News

सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

सोलुखुम्बु । नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ । त्यसैले सबैभन्दा बढी हवाईमार्ग हुँदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ । 

 

पर्यटकीय ‘सिजन’को बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ । सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ । स्थानीयसमेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो । घरको हेरविचार गर्ने एक जना कामदार वा घरधनीबाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए ।

 

पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने ‘कार्गो’ ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त रहेका छन् । तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज अमृत मगरका अनुसार मङ्गलबार १५ उडान भए पनि दुई वटाबाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन् । यस्तै बुधबार १० उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ ।  

खुम्बु क्षेत्र सिजन

विशेष