सरकारको कामले प्रतिपक्ष आत्तियो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको राम्रा कामको प्रभाव स्वरुप देशको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुगेको दावी गर्नुभएको छ । अर्को वर्ष यो लक्ष्य ८ दशमलव ५ प्रतिशत पुर्याइने दावी गर्नुभयो ।
प्रतिपक्षप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले बहुदलीय व्यवस्थामा विरोध सामान्य भएपनि सरकारले गरेका रोजगार, सामाजिक सुरक्षा, ज्येष्ठ नारिक स्वास्थ्य वीमा, ठूला ठूला आयोजनाका विकासे कामबाट प्रतिपक्ष आत्तिएको टिप्पणी गर्नुभयो । उहाँको भनाई थियो– ‘चुनाव पनि हार्नु , विरोध पनि नगर्नु त मिलेन नि ।’
नेपाल कम्युनिष्ट पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, विकास आफ्नो मूल ध्येय भएको बताउनु भयो । पर्यटन क्षेत्रको विकासका लागि सरकारले आईफा अवार्ड कार्यक्रम नेपालमा गर्न दिन अनुमति दिएको प्रसंग कोट्याउँदै अफवाह फैल्याएर रोक्न खोजिएको भन्दै आक्रोश पोख्नुभयो । यद्यपि उपयुक्त लागेको काम सरकारले सम्पन्न गर्ने उहाँको भनाई छ ।
आफूले काठमाडौंमा माक्स लगाउने भेटिन छोडेको अभिव्यक्तिको व्यापक आलोचना भएपछि त्यसको बचाउ गर्दै उहाँले आफ्नो रिसले माक्स लगाएर विरोध गर्न थालिएको टिप्पणी गर्नुभयो । ‘मेरो रिसले भएपनि माक्स लगाउने निस्किए । यसले फाइदै हुन्छ ।’
‘विद्वान पुर्खा, कर्मवीर युवा, प्रकृतिले सम्पन्न, जीवनमय देश गरिब हुनु कसरी सम्भव छ ? यो देश गरिब नभएर गरिब बनाइएको देश हो । संसारमा पुल बने, यहाँ किन बन्न सकेन ? दुनिया शिक्षित, हामी अशिक्षित कसरी ?’ प्रधानमन्त्रीले भन्नुभयो– ‘देशलाई शिक्षित बनाउँछौं । दुई देशभित्र निरक्षरता अन्त्य गरेर छोड्छु । मैले गरेका घोषणा सब सफल बनाउँछु । विद्यार्थी भर्ना उत्तिक्कै प्रभावकारी भयो । यो आधार वर्ष मात्र हो । नयाँ योजना शुरु गरेका छौं । विकासको उच्चदर हासिल गर्छ भनेर एकाथरि आत्तिएका छन् । जत्ति आएपनि नेपाल अगाडि बढ्यो ।’
यो सरकार आएपछि ५ लाख पर्यटक बढेको दाबी गर्दै यसलाई यो वर्ष १२ हुँदै अर्को वर्ष २० लाख पुर्याउने दाबी प्रधानमन्त्रीको छ ।