नेपालको आफ्नै भू–उपग्रह स्थापनाको प्रक्रिया जारीः मन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको आफ्नै भूउपग्रह स्थापनाको प्रक्रिया जारी रहेको बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नको शुक्रबार जवाफ दिँदै मन्त्री बाँस्कोटाले नेपालले आफ्नो अधिकारमा पाएको फ्रिक्वेन्सीलाई सदुपयोग गर्ने प्रक्रियामा रहेको बताएका हुन् ।
उनले सरकार सञ्चार क्षेत्रलाई नियमनको पक्षमा नरहेको र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट गर्दै तर अराजकताको भने विपक्षमा रहेको बताए । जवाफका क्रममा मन्त्री बाँस्कोटाले देशभरका ३१८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुगिसकेको र आगामी वर्षसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्ने जानकारी दिए । उनले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा लैजाने प्रक्रिया जारी रहेको र लाभकरको विवादका कारण एनसेलले उक्त प्रक्रिया पूरा गर्न नसकेको जानकारी दिए । इन्टरनेट सेवाको मूल्य बढ्नेभन्दा पनि घट्ने क्रममा छ, टेलिफोनलगायतका अन्य तार व्यवस्थापनका लागि जमिनमुनिबाट लैजाने प्रक्रिया अध्ययनको चरणमा रहेको बताउँदै उनले ताररहित फाइबर टु दि होम सेवालाई उच्च महत्वमा राखिएको बताए ।
फोरजीको सामग्री खरिद प्रक्रियामा अख्तियारले काम अगाडि बढाउन भनेपछि काम अघि बढाइएको उनको भनाइ छ । संसदीय समितिदेखि विज्ञसँग समेत परामर्श गरेर फोरजीको खरिद प्रक्रिया अगाडि बढाइएको छ, फोरजीमा अनियमितता भएको भन्ने भनाइ तथ्यहीन रहेको मन्त्री बाँस्कोटाले स्पष्ट पारे । आगामी कात्तिकभित्र मुख्य सहरहरूमा फोरजी सेवा पुग्ने उनको भनाइ छ ।
गोकुलप्रसाद बाँस्कोटा भूउपग्रह