पूर्वअधिराजकुमारी प्रेरणाको दाइजो विवादमा पुनः सुनुवाइ हुने
काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले शुक्रबार ‘मिसिल झिकाउने’ आदेश जारी गरेको हो ।सर्वोच्चमा दाइजोसम्बन्धी उक्त विवादमा यसअघि दुईपटक सुनुवाइ भएर टुंगिएको थियो ।
छाउनीको झन्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो । सुरुमा प्रेरणाले २०७१ साल माघमा सर्वोच्चमा रिट दिएकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो । नेपाल ट्रस्टको कार्यालयले उक्त फैसलामा चित्त नबुझेपछि पुनरवलोकन निवेदन हालेको थियो ।
त्यतिबेला सर्वोच्चले उक्त घरजग्गा प्रेरणाकै हुने फैसला गरेको थियो । त्यो फैसलाविरुद्ध नेपाल ट्रस्टको कार्यालयले अर्को पुनरावेदन गरेको थियो । उक्त पुनरावेदनमा सर्वोच्चको पूर्ण इजलासले अघिल्लो फैसला उल्ट्याउँदै पुनः सरकारकै हुने निर्णय दियो । त्यो फैसलामा तथ्य प्रमाणको ठोस विश्लेषण नभएको भन्दै फेरि प्रेरणा सर्वोच्च पुगेकी हुन् । सर्वोच्चको शुक्रबारको आदेशले पुनः सुनुवाइको बाटो खोलिदिएको छ । अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएको छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
सर्वोच्च अदालत प्रेरणा राज्यलक्ष्मी शाह