Breaking News News

‘कम्युनिष्टलाई भोट हाल्ने हात ढिक्कीले किच्याउँ जस्तो भएको छ’ (भिडियोसहित)

‘कम्युनिष्टलाई भोट हाल्ने हात ढिक्कीले किच्याउँ जस्तो भएको छ’ (भिडियोसहित)

काठमाडौं । डा. प्रेमसिंह बस्न्यात नेपाली सेनाका पूर्वजनरल पनि हुनुहुन्छ । कडा र सीधा बोल्ने स्वभावका डा. बस्न्यातका विचारहरुलाई मन पराउने धेरै छन् । नेपालआजको नियमित स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा यसपटक पनि डा. बस्न्यातले रोचक, गहन विचारहरु सम्प्रेषण गर्नुभएको छ । प्रस्तुत छ उहाँले अन्तर्वार्तामा व्यक्त गर्नुभएका धारणा शब्दमाः 

 

‘इतिहास र हाम्रो संस्कृति गौरवशाली छ । अजमेर कोट पुगेर हेर्दा फरक सभ्यता पाएँ । काठमाडौंको संस्कृति चिनियाँ सभ्यतासँग निकट  छ । भेरी र राप्ती कटेर गएपछि ती क्षेत्रमा फरक सभ्यता मैले पाएको छु । महाकालीदेखि कुमाउ गढवालसम्म पनि एकै सभ्यता छ । कुनै समयमा चल्लहरुको सभ्यता थियो । उनीहरु काँगडा पनि कटेर अगाडि बढेका थिए ।  चल्लहरु नै मल्ल भएका थिए । बोधगया भनेको बुद्धले ज्ञान प्राप्त गरेको स्थल हो । त्यहाँसम्म पनि मल्लहरुको पहुच पुगेको थियो । बोधगया र गया नजिकै छन् । त्यहाँ अहिले पनि जितारी मल्लको शीलालेख छ । 

 

कोट र किल्ला भनेको उस्तै उस्तै हो । किल्ला ठूलो हुन्छ । त्यहाँ भित्र राजारानी, सैनिक, जनता सबै हुन सक्छन् । गढी भनेको चाहिँ सेना, युद्धसामाग्री मात्रै रहन्छन् । त्यहाँ गैरसैनिक हुँदैनन् । यो सैन्य उद्देश्यकै लागि निर्माण गरिन्छ । दुल्लु, दैलेखदेखि डोप्लामा समेत त्यहाँ गढीहरु देखिन्छ । मैले मेरै पैसा खर्च गरे ती क्षेत्र घुमेर हेरेर आएको छु । अनुसन्धान गरेर पुस्तक पनि लेखेको छु । नेपालाको सीमाना सानोबाट ठूलो भयो । ठ्रूलोबाट सानो पनि भयो । यो राजनीतिक चक्र हो । घाम नअस्ताउने ब्रिटेन अहिले सानो फूच्चे देशमा सिमित भएको छ । 

 

अहिले दुई लाख सेना भन्दा शक्तिशाली एउटा अणुबम भएको छ । ढुंगेयुगबाट यो युगमा आयौं । खाली खुट्टा, सातु खाएर यो देश जोडियो । यो इतिहास संकलन गर्नुपर्छ । नयाँ पुस्ताले यो कुरा थाहा पाउनु पर्छ । यो युगलाई गलत तरिकाले बुझिएको छ । 

 

अहिले नेपालका महान् नेता भनेका प्रचण्ड, केपी ओली, माधव नेपाल, विद्या भण्डारी जस्ता हुन् भन्ने स्थापित गर्न खोजिदैछ ।

 

नेपालमा प्राध्यापकहरु नै प्रमाणपत्र बेचेर खान्छन् । एउटा नपढेको मान्छेले अपराध गर्छ भने ठूलो कुरा हुँदैन । तर पढेका पिएचडीहरुले प्रमाणपत्र बेच्दा रहेछन् । त्रिवि सेवा आयोगको परीक्षाफलमा भएको कुकृत्य पढेकैले गरेका हुन् । त्रिविबाट स्वर्णपदक दिलाउने, लिनेहरु पनि पढेलेखेकै हुन् । एउटा अनपढले अपराध गर्दा छुट दिन सकिन्छ तर यस्ता अपराधीलाई छुट लिन सकिँदैन । यिनीहरुलाई झुण्ड्याउँदा पनि पाप लाग्दैन । 

 

देशका प्रधानमन्त्री त डबल डाक्टर हुन् नी । यस्ता देशका प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ । देशमा यति धेरै अनुशासनहिनता छ ।  कुनै जमानामा फुटबल हुँदा रंगशालामा भागदौड मच्चियो नेपालमै । धेरै मान्छे मारिए । केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिए । विदेशमा रेल दुर्घटना हुँदा मन्त्रीले राजीनामा दिन्छन् । रेल मन्त्रीले त चलाउने होइन । कुलपतिको टोपी लगाउने अनि प्रधानमन्त्रीले नैतिक जिम्मेवारी कहिले पनि नलिने हो भने केही हुनेवाला छैन । 

 

नेपालमा विद्वान भनेका त दलका झोले भएर बसेका छन् । यस्तालाई झुण्ड्याइनु पर्छ । त्रिविका उपकुलपति त बौद्धिक चोर हुन् । उपकुलपतिले कुलपति वा प्रधानमन्त्रीको चाकडी गरेर बसिरहेका छन् । 

 

म पहिले प्रधानमन्त्रीलाई नौ पासे भन्ने गर्थेँ । अब त उहाँसँग दुई वटा पिएचडी छन् । मेरो त एउटा मात्रै पिएचडी छ । उहाँको दुई वटा छ । हेर्नुस्, मेरो देश बिग्रेको कारण के हो ? यस्तै कारणहरुले हो । त्रिविको शाख कस्तो थियो त ? अहिले कसरी बिग्रेको छ सबैले देखिरहेका छौं । यस्ता प्राज्ञविज्ञको काम छैन । एमालेका यी घोडाहरुलाई मुखमा थुकिदिए हुन्छ । 

 

अस्तिमात्रै बिबिसीमा सुने, ४० वर्षअगाडि कसैले उहाँको कुरा काटेको रहेछ भने पनि मन मा हिसाब राख्ने मान्छे रहेछन् केपी ओली । उहाँलाई चाकडी गर्ने र गुण्डा बढी मन पर्छन् ।  

 

अहिले प्रधानमन्त्रीका बारेमा के भनूम् । उहाँले  आफू प्रधानमन्त्री भएका कारण मास्क लगाएर हिँड्नु नपरेको बताए । यस्ता हावादारी कुरा गर्नेलाई किन सिंहदरबार, किन बालुवाटार दिने ? पाँच वर्षको बच्चाले पनि हाम्रा प्रधानमन्त्रीको शैली देखेर आश्चर्य मान्न थालेका छन् । 

 

कम्युनिष्टलाई भोट हाल्ने हाम्रा हातलाई ढिक्कीले कुट्न मन छ । कम्युनिष्ट देशबाटै बढार्नु पर्ने बेला भएको छ । कम्युनिष्ट भनेका फटाहाहरुको बीउ हुन् । संसारमै सखाप भएका नेपालमा अलमलमा पारे । संसारमा सक्किसकेको कम्युनिष्ट विचारधारा नेपालमा ल्याइयो । 

 

मेरो देशका प्रधानमन्त्रीले १४ वर्ष जेल बसेर पीडा भएको कुरा सुनाउँछन् । जस जसको टाउको केपी ओलीले काटे, तिनका परिवारलाई पीडा भएन होला । जुन देशमा मर्डरर नै लिडर हुन्छन् त्यो देशमा यस्तै हुन्छन् । म दीपक मनाङ्गेलाई केही भन्दिनँ, सबैभन्दा ठूला गुण्डानाइके केपी ओली हुन् । 

 

 राजावादीहरु मुर्ख हुने रे केपी ओलीले भनेको । बालुवाटारबाट सोल्टी होटल कति टाढा थियो र ? एक लाख डलर कसलाई सोधेर लिए ? देशेकोे बेइज्जत भयो । अब त केपी ओलीले पोप लेख्नु पर्छ अगाडि । यिनी कहिले पनि पशुपति कहिले जाँदैनन् । भारतको प्रधानमन्त्री मुक्तिनाथ, पशुपतिनाथ जान्छन् । नेपालका प्रधानमन्त्री जाँदैनन् । यिनी नेपालका पोप हुन् । तीन करोड जनतामध्ये ८० प्रतिशत नेपालीको मनमा हिन्दु धर्म छ । तर प्रधानमन्त्री पोपको भूमिकामा छन् । 

 

नेपालका सोझासीधा जनतालाई क्रिष्चियन बनाउने यिनीहरु नै हुन् । राजावादी मुर्ख भन्ने पटमुर्ख हो । मुनका स्वास्नीसँगै बहकिने, तक्मा लिने यिनीहरु काम लाग्दैनन् । यस्ता निम्छरा कहिले पनि कोही पनि प्रधानमन्त्री भएका थिएनन् । 

 

नेपालमा रेल पनि आयो, पानीजहाज पनि आयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा कसले कसले कसरी खाइरहेका छन् हेरौं न । यस्तो चोर काम गर्न किन चाहियो दुई तिहाईको सरकार ? 

 

नेपालमा डन सिस्टम छ । छोरी मेयर, बुहारी मन्त्री, भतिजो राजदूत, सम्धि अध्यक्ष हुने थिति प्रजातन्त्र हो ? यो भन्दा राम्रो सिस्टम त राणा शासनमै थियो । प्रधानमन्त्री ओलीको व्यापापरिक सम्बन्ध शेर्पा परिवारसँग के हो सिआइबीले छानविन गर्नुपर्छ । ६ अर्ब भाडामा दिनु पर्ने जमिनलाई १ अर्ब ३४ करोडमा भाडामा प्रधानमन्त्रीले नै दिए । 

 

गधालाई सय पटक नुहाए पनि गाई हुँदैन । अहिलेका शिक्षामन्त्री पनि त्यस्तै हुन् । यिनले भात खान्छन् कि घाँस खान्छन् मैले बुझेको छैन । शिक्षामन्त्री आणविक कुरामा लागेका छन्, त्यो पनि विदेशीको इशारामा । 

 

गणतन्त्र भनेको राष्ट्रपति विद्यादेवी भण्डारी र लोकतन्त्र भनेको प्रधानमन्त्री केपी शर्मा ओली हुने रे । यहाँ यसरी नै गणतन्त्र र लोकतन्त्रको प्रचार गरिँदैछ । केपी शर्मा ओलीको परिभाषा हो यो । देशमा द्वन्द्व निम्त्याउने केपी ओली र गोकुल बास्कोटा हुन् । 

 

बास्कोटाले विप्लव समूहलाई आतंकवादी भने । यो वैधानिक तवरले घोषणा गरेर आतंकवादी भन्नु पर्छ । म स्पष्ट भन्न चाहन्छु, विप्लव समूहको म समर्थक होइन ।’
 

विशेष