सिन्धुपाल्चोकमा बाढीले घर बगायो
काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा बाढीले एक घर र पुल बगाएको छ ।
स्थानीयका अनुसार शनिबार राति भएको वर्षापछि स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु पुल बगाएको हो ।
घटनाबारे प्रहरीलाई आइतबार बिहान जानकारी आएको र वास्तविकता बुझ्न बाह्रबिसेस्थित इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक यादव थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई जानकारी दियो ।
बाढीका कारण स्थानीयको भागाभाग भएको थियो । त्रासले रातभर सुत्न नसकेको स्थानीयले बताएका छन् । मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त पारेको छ।