News

वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको  निधन भएको छ । अधिकारीकाे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा आइतबार बेलुका  ८ः०२ निधन भएको हो । घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शंका गरी पुष १९ गते थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो ।  

 

हाल नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य रहेका अधिकारी जिल्लामा पुराना वामपन्थी नेताको रुपमा चिनिन्छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन समेत दिएका थिए ।

 

अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज छन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छिन् । ४३ वर्षको राजीनिक इतिहास नै उनको सामाजिक जीवनको पाटोका रुपमा हेरिएको छ । नेता अधिकारी कम्युनिस्ट आन्दोलनमा एक इमान्दार, निष्ठावान र आदर्शवान नेताको रुपमा चिनिन्छन् । स्वर्गीय नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलिसंगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

क्रान्तिकारी माओवादी श्रीनाथ अधिकारी

विशेष