हुम्लामा अनौठो प्रथाः अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा
सिमकोट । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ ।
‘विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुवाले एकसरो सबै व्यवस्था गरिदिनुभयो । दुःखजिलो गरेर बसेकी छु’, लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाइन् । बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ ।
त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् । त्यो कसरी? प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्छिन्, ‘अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ ।’
धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उनको तर्क छ । तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ । बुवाको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन गरिएको व्यवस्थामै निर्भर रहँदै आएकी तामाङलाई हालसम्म बेलाबखत आउने केटाले केही पनि सहयोग गरेको छैन । जीवन धान्नकै लागि बर्खामा ताक्लाकोट काम गर्न जाने गरेको पनि उनले बताइन् ।
तामाङजस्तै ३५ वर्ष उमेर पुग्नुभएकी लिमी जाङ्गकी नोरजिङ तामाङको पनि छोरा जन्मेको छ । बुवा केही हुनेखाने भएका कारण उनको व्यवस्था राम्रै छ । हालसम्म बुवाले व्यवस्था गरेको घरमा बस्दै आएकी नोरजिङका अघोषित श्रीमान् मन लागेका बेला भने आउने गरेका छन् । छोरा र आमालाई केही व्यवस्था गर्नु नपरेका उहाँका ती केटा मान्छे आउने, खाने र सुत्नेभन्दा अन्य केही पनि जिम्मेवारी लिँदैनन् । सामाजिक मान्यताअनुसार सबै कुरा स्वीकार गर्नु परेको नोरजिङको भनाई छ ।
‘के गर्नु, पहिले गल्ती भयोस अब सहज रूपमै बस्नु पर्यो’, उनले भनिन् । समाजले अलि राम्रो दृष्टिले नहेर्दा भने केही खल्लो महसुस हुने नोरजिङको भनाइ छ । बिरामी हुँदा र अरू केही गाह्रोसाह्रो पर्दा भने पीडा खेपेको उनको भनाइ छ । वैधानिक श्रीमान् नहुँदा समस्या धेरै आउने गरेको यस्ता महिलाहरूको अनुभव छ । ‘म त मेरी छोरीलाई यो प्रथाबाट टाढै राख्छु’, नोरजिङको भनाई छ । लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गमा यस्तो ठिमाहा प्रथा स्वीकार गरेर तीस जना महिला बसेका लिमा–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।बहुपति प्रथाकै कारण केटी मान्छे बढी हुँदा धेरै पहिलेबाट यो समस्या उब्जिएकाले समाजले सहज रूपमा स्वीकार मात्र गरेको छैन, केही विभेदपूर्ण सामाजिक नियम पनि बनाएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
हुम्ला