६२ वर्षीय पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की तेस्रो विवाह गर्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६२ वर्षको उमेरमा तेस्रो विवाह गर्ने भएका छन् । उत्सव शम्शेर राणाकी नातिनीसँग कार्कीको आइतबार फूलमाला भएको छ । दुलहीको नाम सार्वजनिक भइसकेको छैन ।
थापाथलीस्थित एक पार्टी प्यालेसमा भएको टिकोटालोको फोटो बाहिरिएको छ । विवाहको मिति पनि अज्ञात नै छ । केहीले भने विवाह नै भइसकेको बताएका छन् ।
कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् ।
कार्कीले पहिलो बिहे प्रसाईं परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गरेका थिए । दोस्रो श्रीमती आवु राणाको क्यान्सरको कारण करिब २ वर्षअघि निधन भएको थियो । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।
भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।