News

घूस लिएर प्रमाणपत्र, पनिकाका अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा 

घूस लिएर प्रमाणपत्र, पनिकाका अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ ।

 

कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थपाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्तासमेत हुन् । परीक्षाको परिणाममा फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ । कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् । स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो । ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले अरू परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई सन् २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो ।’

 

ग्रामीण विकासमा पनि नम्बर थप्न लगाएर कोइरालाले प्रथम श्रेणीको प्रमाणपत्र लिएका छन् । उनले सामाजिक शास्त्रतर्फ अनुपस्थित रहेको विषयमा समेत कर्माचार्यबाट अंक थपाएर उत्तीर्णको शैक्षिक प्रमाणपत्र लिएका हुन् । कर्माचार्य र कोइरालाबीचको मिलेमतोमा तीन संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थपिएको छ । अख्तियारको अनुसन्धानमा तिनै कोइरालाले अर्का परीक्षार्थी भट्टराईको प्रमाणपत्रमा समेत अंक थपाएको भेटिएको छ । प्रमाणपत्रमा नम्बर बढाउन कोइरालाले १ लाख ५० हजार र भट्टराईको नम्बर थपेका प्रमाणपत्र लिन ३ लाख रुपैयाँ घूस लेनदेन गरेका थिए ।

 


भट्टराईसँग ३ लाख घूस लिएर उनले गोप्य शाखाका प्रमुख कर्माचार्यलाई नम्बर थप्न लगाएका हुन् । भट्टराईलाई अर्थशास्त्रको स्नातकोत्तर तहका ५ विषयमा १०–१० अंकका दरले ५० नम्बर थपिएको हो । भट्टराईसँग लिएको रकम कोइरालाले कर्माचार्यलाई दिएर नम्बर थपाएको अख्तियारले जनाएको छ । भट्टराई बानेश्वर बहुमुखी क्याम्पसका प्रशासनिक अधिकृत हुन् । जथाभावी नम्बर थपेर शैक्षिक प्रमाणपत्र जारी गरेको आरोपमा अख्तियारले कर्माचार्य र कोइरालालाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका छन् । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । छानबिनका क्रममा उनीहरूमार्फत भट्टराईले समेत नम्बर थपेर प्रमाणपत्र लिन सफल भएको देखिएको हो ।

 


कर्माचार्यले कोइरालामार्फत घूस लिएर अरू परीक्षार्थीको पनि प्रमाणपत्र जारी गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ । विषय शिक्षकबाट उत्तरपुस्तिका परीक्षण भएर आएपछि कम्प्युटरमा अंक चढाउने बेला गोप्य शाखाका अधिकृत कर्माचार्यले नम्बर थपिदिने गरेका थिए । यस विषयमा त्रिविले समेत आन्तरिक छानबिन गरेको थियो । परीक्षकले मार्कस्लिपमा दिएको नम्बर कम्प्युटरमा इन्ट्री गराउने बेला अंक बढाएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय

विशेष