News

बालुवाटार जग्गा : पतिको पहुँच, पत्नीलाई पुर्जा

बालुवाटार जग्गा : पतिको पहुँच, पत्नीलाई पुर्जा

काठमाडौँ । तत्कालीन मालपोतका उच्च अधिकारीहरू र राणा परिवारबीच मध्यस्थताको भूमिका निर्वाह गरेपछि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको ललिता निवासबाट करिब ४ रोपनी जग्गा लिएको खुलेको छ । भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका अनुसार उनकी पत्नी उर्मिला शाह र भुवनकुमारी चापागाईंको नाममा जग्गा लिएको खुलेको हो । चापागाईं गृह मन्त्रालयकै अवकाशप्राप्त अधिकारी गेहनाथ भण्डारीकी पत्नी हुन् । दुवै गृह मन्त्रालयका पुराना कर्मचारी समूहका हुन् । 

मन्त्रालय स्रोतका अनुसार ‘हालैको बकसपत्र’ मार्फत भक्तपुरको मालपोत कार्यालयका तत्कालीन प्रमुख शाहका साथ गृह मन्त्रालय छँदा भण्डारीले समेत पत्नीका नाममा जग्गा लिएको खुलेको छ । दुवैले ४ रोपनी २ पैसा जग्गा ‘बकस’ पाएका थिए । नेपाल सरकारका नामबाट शैलजा हेमन र हाटक राणाका नाममा आएको ५ दिनपछि नै ‘बकसपत्र’ मार्फत जग्गाको स्वामित्व हस्तान्तरण भएको छ ।

उर्मिलासँगै बकसपत्र पाउनेमा चापागाईंको समेत नाम छ । लिखतको ठेगानामा मूलपानी, भोजपुरकी उनको स्थायी ठेगाना काठमाडौं भएको खुल्छ । भण्डारी काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेत भइसकेका व्यक्ति हुन् । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो खुलासाले पदीय दुरुपयोग भएको देखिन्छ ।

‘पतिहरू गृह प्रशासनमा बसेर प्रत्यक्षरअप्रत्यक्ष रूपमा शक्ति प्रयोग गर्ने,’ ती अधिकारीले कान्तिपुरसित भने, ‘अनि बकसपत्र भनेर पत्नीहरूका नाममा धमाधम जग्गा लिने काम भएको छ ।’ साविकको २३–ह अन्तर्गत ११ र १७ नम्बरको कित्ताबाट जग्गा पास भएको देखिन्छ । पहिलो कित्ताको क्षेत्रफल ११ आना २ पैसा छ भने १७ नम्बर कित्ता ३ रोपनी ५ आना छ ।

त्यतिबेलाको लिखतअनुसार जग्गाको कुल मूल्य ६ लाख ४ हजार रुपैयाँ थियो । आजका मितिमा प्रतिआना ५० लाख रुपैयाँका दरले गणना गर्दा उक्त जग्गाको मूल्य झन्डै २५ करोड रुपैयाँ हुन आउँछ । बकसपत्रमार्फत जग्गा लिएमा कुनै लेनदेन हुँदैन । तर पाउनेले प्रचलित कानुनअनुसार रजिस्ट्रेसन शुल्क तिर्नुपर्छ । पूर्वनिर्वाचन आयुक्त शाहले बकसपत्र नभई ‘सस्तोमा पाएकाले जग्गा लिएको’ बताए । उनले भने, ‘रजिस्ट्रेसन शुल्क सस्तो पर्ने भएकाले बकसपत्र लेखेका हौं ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

बालुवाटार

विशेष