News

तीन दसकमा पनि फेला परेन कमलपोखरीको मिचिएको जग्गा

तीन दसकमा पनि फेला परेन कमलपोखरीको मिचिएको जग्गा

काठमाडौं । कमलपोखरीको मिचिएको जग्गालाई पोखरीमा कायम गराउने कार्य ३२ वर्षदेखि अल्झिएको छ । तत्कालीन राजा वीरेन्द्रबाट २०४३ असोज १६ गते प्रमुख सचिव रञ्जनराज खनाललाई कमलपोखरीको मिचिएको जग्गा तीन महिनसम्म पोखरीको कायम गर्न गराउन हुकुम भएको थियो । तीन महिना त के तीन दशकपछि पनि पोखरी अझै मिचिएकै अवस्थामा छ । यति नै बेला काठमाडौंमा हराएका अन्य चार पोखरी खोज्न पनि तत्कालीन राजा वीरेन्द्रले सचिव खनाललाई हुकुम गरेका थिए । यी पोखरी पनि पत्तो लागेको छैन । 

 

कुल ४८ रोपनी पोखरीको जग्गामा पोखरीको उत्तर डिलतर्फ मणिराज गुरुङ, हरिनारायाण मानन्धर, सीता तामाङ, कमल प्रावि, कृष्णमाया कार्की, चेतलाल श्रेष्ठ, शान्तादेवी शर्मा, पदमकुमारी गुरुङ र किशोरजङ्ग थापाको जग्गामा पोखरीको केही जग्गा घुसेको प्रतिवेदन त्यस समय तयार भएको गुठी संस्थानका अधिकारी बताउँछन् । 

 

हनुमानढोका दरबारमा रहेको कडेल्चोक भगवतीलाई जल र फूल चढाउन बनाइएको यो पोखरीपछि राजा प्रतापसिंह शाहले कमलको बीउ रोपेपछि ‘कमल पोखरी’ नामले चिनिएको थियो । नक्साल नन्दीकेश्वरमा उनैले कमलको फूल चढाउने व्यवस्था गरेको इतिहास वि.सं १८३३ को लालमोहरमा उल्लेख छ । 

 

कमलपोखरीको जग्गासहित काठमाडौँमा हराइरहेका कडेल्चोक भगवतीकै चार अन्य पोखरी खोजतलास गर्न पनि राजा वीरेन्द्रले सचिव खनाललाई त्यतिबेला हुकुम दिएका थिए । काठमाडौँको इखा पोखरी, मिल्तु पोखरी, सिनुवाल पोखरी र केटाहिटी यी पोखरी पनि हालसम्म पत्ता लागिसकेको छैन । लालमोहर अनुसार यी पोखरी पनि कडेल्चोक भगवतीको हो । 


तत्कालीन श्री ५ वीरेन्द्रको प्रमुख सचिवालयको हुकुम बमोजिम हराइरहेको यी मिल्तु पोखरी, सिनुवाल पोखरी, केटाहिटी मनिको पोखरी र इखा पोखरी पत्ता लगाई संरक्षणसमेत गर्न र ककसको नाममा यी पोखरी परे, ककसले मिचेका हुन्? ‘पोखरी मिच्न सघाउने कर्मचारी अवकाश पाएको भए पनि कारबाही गर्नू र पोखरी साविकअनुसार राख्नू’ भन्ने पत्र तत्कालीन सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीमार्फत सरकारका विभिन्न निकायमा आदेशपत्र प्रेषित भएको थियो । 

 

वि.सं १८३३ र १९३० को लालमोहरअनुसार यी चार पोखरी लालमोहरमा मात्र सीमित छ । इखा पोखरी भने हाल कन्या मन्दिर विद्यालयको परिसरमा खेलमैदानका रूपमा रहेको अधिकारीहरूको भनाइ छ । केटाहिटी पोखरी भने ठहिटी क्वावहाल बीचतर्फ रहेको अभिलेखबाट देखिन्छ तर पोखरी फेलापर्न सकेको छैन । गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार, कमलपोखरीको कुल ४८ रोपनीमध्ये २००१ सालमा पोखरी नाप्दा पानीको भाग ४२ रोपनी चार आना दुईपैसा रहेको अभिलेख छ । पश्चिम डिल पर्ती १५ आना दुई पैसा, उत्तरी डिल पर्ती दुई रोपनी तीन आना पूर्वदक्षिण डिल दुई रोपनी दुई आना र पश्चिम दक्षिण डिल सात आना जग्गा पर्ती भन्ने जनिएको थियो । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमलपोखरी जग्गा

विशेष