News

केरुङका भट्टीमा देहव्यापारः चिनियाँ र तिब्बतीको रोजाइमा नेपाली किशोरी

केरुङका भट्टीमा देहव्यापारः चिनियाँ र तिब्बतीको रोजाइमा नेपाली किशोरी

रसुवा । पछिल्लो समय चीनको केरुङ सहर नेपालीका लागि आकर्षणको केन्द्र बनेको छ । नेपाल र चीनको एक मात्र अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट नजिकको केरुङ सहर रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका धेरैको रोजगारीको गन्तव्य पनि हो । माइती नेपाल रसुवाका अनुसार रोजगारीका लागि केरुङ पुग्ने नेपालीमध्ये अधिकांश महिला छन् । त्यसमा पनि किशोरीको संख्या अधिक छ ।

 

२०१८ मा रसुवागढी नाका हुँदै तीन सय ३८ जना नेपाली किशोरी केरुङ पुगेका छन् । १६ देखि २५ वर्ष र कक्षा ८ देखि १२ मा पढ्ने किशोरी रोजगारीका लागि भन्दै केरुङ पस्ने गरेको माइती नेपालले जनाएको छ । चीनसँगको व्यापारिक नाका रसुवागढी ०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

 

विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवालीको रोजगारीको प्रमुख गन्तव्य चीनको केरुङ बनेको हो । केरुङ रसुवागढी नाकाबाट २४ किलोमिटरको दूरीमा पर्छ । चीनसँग जोडिएका अन्य नाका बन्द रहेको अवस्थामा चीन सरकारले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणासमेत गरेकाले केरुङ जानेको चहलपहल बढेको हो । 

 

चिनियाँ र तिब्बतीको रोजाइमा नेपाली किशोरी
केरुङ पुगेका नेपाली युवती तथा किशोरीलाई जबर्जस्ती देहव्यापारमा लगाइएको भेटिएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए । पीडित किशोरीहरूका अनुसार डान्सबार, रेस्टुरेन्ट र भट्टीपसलमा काम गर्नेलाई यस्तो काम गर्न दबाब दिने पारिएको छ । चिनियाँ र तिब्बतीयन पुरुष नेपाली युवतीप्रति आकर्षित हुने गरेका छन् ।

 
रसुवागढी नाका हुँदै मानव बेचबिखन हुने क्रम बढेसँगै माइती नेपालले हेल्पडेक्स स्थापना गरी कडाइ गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म केरुङ जान लागेको एक सय १० किशोरीलाई रसुवागढी नाकाबाट फिर्ता गरेको घलेले बताइन् । रोजगारीका लागि भन्दै केरुङ जान लागेका उनीहरूलाई नाकाबाट फिर्ता गरिएको हो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

रसुवा केरुङ सहर नेपाली किशोरी

विशेष