News

त्रिविमा पदाधिकारीको मनोमानीः जाँदाजाँदै उपकुलपतिद्वारा नियमविपरीत पेन्सन सुविधाको निर्णय

त्रिविमा पदाधिकारीको मनोमानीः जाँदाजाँदै उपकुलपतिद्वारा नियमविपरीत पेन्सन सुविधाको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले जाँदाजाँदै कार्यकारी परिषद्बाट त्रिविको नियमविपरीत दोहोरो वधा लिने निर्णय गराएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० (२०७३÷९÷२) सम्मको संशोधनसहित०मा भएको व्यवस्थालाई लत्याउँदै उपकुलपति खनियाले विश्वविद्यालयको उपकुलपतिको चार बर्से अवधिमा तलब र पेन्सन दुवै लिन पाउने गरी कार्यकारी परिषद्बाट निर्णय गराएका छन्।

 

कार्यकारी परिषद्को २०७६ असार २० गते बसेको बैठकको निर्णय नम्बर २५१६ मा विश्वविद्यालयको उपकुलपतिले चार बर्से अवधिमा तलब र पेन्सन दुवै लिन पाउने व्यवस्था कायम गरी निर्णय गराएका छन्। यो निर्णय हाल रायका लागि त्रिविको कानुनी सल्लाहकार नारायण खनालसमक्ष पठाइएको छ। सो निर्णय आगामी त्रिविसभाबाट अनुमोदन गराई कार्यान्वयन गरिने उपकुलपतिको तयारी छ।

 

जब कि विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० संशोधनसहितको परिच्छेद ५४ (५ क) मा विश्वविद्यालय सेवाबाट निवृत्त भई निवृत्तीभरण लिइहेका व्यक्ति सरकारी सेवा वा नेपाल सरकारको आर्थिक लगानी भएको वा नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक संस्थाको मासिक पारिश्रमिक पाउने गरी कुनै पनि पदमा नियुक्ति भएमा त्यस्तो व्यक्तिले विश्वविद्यालयबाट निवृत्तीभरण पाउने छैनन् भनी स्पष्ट व्यवस्था छ। उपकुलपतिले त्रिविको रातो किताबमा भएको व्यवस्थालाई लत्याउँदै जाँदाजाँदै दुवै सेवा लिएर जान खोजेको विश्वविद्यालयकै प्रध्यापकहरूको गुनासो छ।

 

उपकुलपति खनियाको भदौ ५ गतेदेखि चार बर्से म्याद सकिँदै छ। उनी २०७२ भाद्र ६ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आफू खनियाको क्षेत्रबाट चुनाव लड्ने र उनलाई त्रिविको उपकुलपति बनाउने सर्तमा चार वर्षे उपकुलपति पद दिएको त्रिवि स्रोतले बतायो। त्रिवि शिक्षा शास्त्र संकायका स्थायी प्राध्यापक खनिया चुनाव लड्नकै लागि शिक्षा शास्त्र संकायबाट राजीनामा दिएर हिँडेका थिए। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

त्रिभुवन विश्वविद्यालय तीर्थराज खनिया पेन्सन सुविधा

विशेष