४ प्रदेशको नाम र राजधानी अन्योल, यी हुनसक्छन् विकल्प
काठमाडौं । संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ। तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ। चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन्।
प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ मा राजनीतिक दल तथा प्रदेशसभा सदस्यका बीचमा रहेको विवादकै कारण प्रदेश राजधानी र नाम तोक्न नसकिएको हो ।
संविधानमा भएको व्यवस्थाअनुसार प्रत्येक प्रदेशले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाको दुई तिहाइ बहुमतबाट तोक्नुपर्ने हुन्छ । प्रदेश २ बाहेकका प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाइ बहुमत पुगे पनि आन्तरिक विवादकै कारण तोक्नसमेत असहज भएको छ।
प्रदेश १
प्रदेश १ मा सत्तारुढ दल नेकपाले विराटनगरलाई स्थायी राजधानी बनाउने सहमति जुटेको छ । बृहत् विराटनगर निर्माणसँगै प्रदेशका संरचना त्यही प्रदेशभित्र अन्यत्र पनि राख्ने गरी सहमति जुटे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसमा आपत्ति जनाउँदै आएको छ।
प्रदेश १ को राजधानीका रूपमा विराटनगर, इटहरी, धरान, धनकुटा, सुन्दरहरैचास्थित गोठगाउँवासीले प्रदेशको राजधानी माग गर्दै संघर्षमै रहेका छन्।
प्रदेश २
प्रदेश २ को नाम र स्थायी राजधानी अन्य प्रदेशभन्दा पेचिलो बन्दै गएको छ। प्रदेश २ मा कुनै पनि दलको दुई तिहाइ बहुमत छैन। समाजवादी पार्टी र राजपा नेपालको गठबन्धनको प्रदेश सरकार छ।
प्रदेश सरकारले नाम र राजधानीका लागि सुझाव संकलन गरिसकेको छ । राजनीतिक दलबीच प्रदेशको राजधानी र नामबारे छलफल भए पनि निष्कर्ष निस्केको छैन।
प्रदेश २ मा स्थायी राजधानीका लागि जनकपुरधाम र वीरगन्ज हुनुपर्ने माग हुँदै आएको छ । प्रदेश २ को नाम मिथिला, सीता, तिरहुत, मधेस, मध्य मधेस, सिम्रौनगढ, भोजपुरा, मिथिला हुनुपर्ने सुझाव आयोगले दिएको छ।
प्रदेश ३
संघीय राजधानी काठमाडौंसमेत रहेको प्रदेश ३ को नाम र स्थायी राजधानीका विषयमा राजनीतिक दलबीच घोचपेच चलिरहेको छ। संघीय राजधानी नै प्रदेश ३ मै रहेकाले अन्य प्रदेशभन्दा यो प्रदेशमा टुंगो लगाउन सकस भइरहेको छ।
प्रदेशसभाको गत अधिवेशनमा राजधानीको लागि हेटौंडा, चितवन, काभ्रे, नुवाकोट र भक्तपुरको नाम प्रस्ताव गरिएको छ । राजधानी सम्भाव्यता अध्ययन समितिले यी पाँच ठाउँको नाम सिफारिस गरेको हो।
प्रदेश ५
प्रदेश २ जस्तै प्रदेश ५ मा समेत प्रदेश राजधानी र नामबारे तीव्र विवाद रहेको छ । यो प्रदेशमा पनि नाम र राजधानीबारे विवाद सुल्झिनुको साटो बल्झिदै गएको छ।
प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा सहमति नजिक राजनीतिक दल पुगे पनि स्थायी राजधानीका विषयमा टकराव बढ्दै गएको छ । प्रदेशको स्थायी राजधानीका लागि बुटवल, दाङ नै हुनुपर्नेमा तीव्र विवाद रहेको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । राजधानी र नामबारे छलफल सकारात्मक भइरहेको बताउँदै उनले सोबारे निर्णय छिट्टै नै हुने बताए।
बुटवल र दाङ नै हुनुपर्ने पक्षमा पार्टीकै शीर्ष नेता लागेपछि प्रदेश ५ मा विवाद पेचिलो बन्दै गएको छ । यो प्रदेशमा पनि सत्तारुढ दल नेकपाको दुई तिहाइ बहुमत रहेको छ। यो खबर आजको राजधानी दैनिकमा सुभास साहले लेखेका छन्।
प्रदेश राजधानी