चोटको बदला पुरस्कार
कथा धेरै समयअघिको हो । एकदिन विदर्भका यशस्वी राजा सुकीर्तिदत्त आफ्ना मन्त्री तथा आठपहरियासाथ बगैंचा घुम्न निस्किए । बगैंचामा घुम्दाघुम्दै सुशीतल हावाको प्रभावले उनलाई केहीबेर आराम गर्ने इच्छा भयो । उनी त्यहीँ नजिकको आराम कुर्सीमा पल्टिए । ठीक त्यसैबेला कतैबाट फ्याँकिएको एउटा धारिलो ढुंगा आएर विदर्भ नरेशको निधारमा नराम्ररी बज्रियो । एकाएक उनको निधारबाट रक्तधारा फुट्न थाल्यो ।
‘ए पक्र, ढुंगाले हान्ने को हो ?’ घाउ भएको ठाउँमा दायाँ हातले रगत रोक्दै राजाले आफ्ना फौजलाई आदेश दिए– ‘त्यसलाई तुरुन्त पक्रिएर गिरफ्तार गरी मेरा अगाडि ल्याऊ ।’ राजाका आठपहरिया तुरुन्त परिचालित भए । राजाको आदेश मुताविक उनीहरुले ढुंगा हान्नेलाई तत्काल राजा अगाडि हाजिर गराए । पक्राउ परेकाहरु हेर्दै निर्दोष देखिने दुई बालक थिए । राजाका अगाडि उपस्थित भएका ती बालक भयले राता, निला, पहेंला देखिन्थे । अब के हुने हो भनेर थर्थरी कामेका यी बालकको मनोदशा देखेर राजाको रिस शान्त भइसकेको थियो ।
राजाले बच्चालाई नरम शैलीमा सोधे– ‘मैले के अपराध गरेको थिएँ र तिमीहरुले मलाई ढुंगाले हान्यौ ?’ बडो धकाई धकाई बालकले जवाफ दिए– ‘सरकार, हामीले आँपको रुखमा पो ढुंगा हानेका थियौं । तर दुर्भाग्यवश त्यो ढुंगा हजुरलाई लाग्न पुगेछ ।’
‘अनि तिमीहरुले त्यो आँपको वृक्षमाा किन ढुंगा हानेको त ?’ यसपाली चाहिँ राजाले कड्किएको स्वरमा सोधे– ‘के फल दियो त त्यसले ?’ बालकले विनम्र भावमा जवाफ दिए– ‘हो, दिएको थियो सरकार । तर हामीले फल बटुल्नु अघि नै तपाईंका सैनिकले हामीले पक्रिएर यता ल्याए ।’ दुई बालकको यस्तो जवाफ सुनेपछि राजाले संगै रहेका राज्यकोष प्रमुखलाई हुकूम दिए– ‘यी दुई बालकलाई पाँच पाँच सय स्वर्ण असर्फी दिएर ससम्मान विदाई गर ।’
आफूलाई ढुंगा हान्नेलाई उल्टो पुरस्कार दिएको देखेर सबै छक्क परे । कसैमा सोध्ने आँट थिएन । तैं चुप मै चुपको अवस्था थियो । यो सवै बुझेका राजाले भने– ‘त्यो आँपको बृक्ष जड हो । तथापि आफ्नो अंग प्रत्यंगमा प्रहार गर्नेलाई नरिसाई फल दिन्छ । म त चैतन्य प्राणी परें । के म चाहिँ पुरस्कार नदिएर दण्ड दिउँ ?’ राजाको यस्तो भनाई सुनेर सबै मौन बसे ।