सांसद्को प्रश्न : एउटै व्यक्तिले तीन विवाह गरेर दर्ता गरे के हुने ?
काठमाडौँ । ‘‘३ जना लोग्ने र एउटा श्रीमती भएर विवाह दर्ता गर्न गए भने के गर्नुहुन्छ ? समाजमा भएका कुराहरुलाई ऐन कानूनले कमाण्ड गर्नु पर्छ कि पर्दैन ?’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसद विजय सुब्बाको प्रश्न हो यो ।
हिन्दु विधिशास्त्रअनुसार बनेको संविधान भएकाले यसले अन्य जातिका धर्म, संस्कृति र परम्परालाई नजअन्दाज गरेको सुब्बाले टिप्पणी गरे । समिति सदस्य यशोधा गुरुङ सुवेदीले सुब्बाको भनाइप्रति असहमति जनाउँदै भनिन् –‘‘कानूनले बहुविवाहलाई अपराध अन्तर्गत मानेको छ । चाहे त्यो बहुपति प्रथा होस् या बहुपत्नी प्रथा होस् । हाम्रा समाजिक मान्यताहरु थुप्रै प्रकारका छन् । राम्रालाई कानुनतः व्यवस्था गरेर स्वीकार पनि गर्नुपर्छ । नराम्रा विषयलाई कानुन बाटै दण्डित गरेर हटाउनुपर्छ,’
सुवेदीले भनिन्, ‘हाम्रो सामाजिक परम्परामा बोक्सी प्रथा छ । के बोक्सी प्रथालाई हामी मान्यता दिन्छौं ?’’ समितिको आइतबारको बैठकमा सांसदहरुबीचको तर्क हुन् यी । नेपालमा कानूनी रुपमा दण्डित गरिएको बहुविवाहका विषयमा सांसदहरुबीच गज्जबको छलफल भयो ।
समिति सांसदहरुले बहुविवाह बारे समाजमा विद्यमान मान्यता, धर्म, संस्कृति र जातिय परम्पराका विषयमा आफ्नो विचार राखे ।
कतिपय सांसदले सामाजिक मान्यतालाई पूर्ण रुपमा गलत भन्न नसकिने पनि तर्क गरे भने कतिपयले समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताए । कतिपयले प्रचलित कानूनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
समिति सदस्य सुब्बाले भने –‘‘संविधानले नै सबै जात जातिलाई आफ्नो प्रथा, परम्परा मान्नु भनेर सबै कुरा खोलेकाले परम्परालाई मानेकै आधारमा राज्यको कानुनले संजाय दिन मिल्छ ?’ समिति सदस्य रेखा शर्माले कानून र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानूनलाई विस्थापित गर्न नहुने तर्क गरिन् ।
समितिमा अर्का सदस्य छक्क बहादुर लामाले शर्माको भनाईको प्रतिवाद गर्दे केन्द्रीय कानुन अनुसार प्रदेश र स्थानीय तहको कानून बन्ने भएकाले क्षेत्रगत विषयलाई नजरअन्दाज गर्न नमिल्ने तर्क गरे ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणको व्यवस्था गर्न बनेको विधेयकको दफा १९ मा उल्लेखित व्यक्तिगत घटनाको सूचना दर्ता प्रक्रिया सम्बन्धमा ‘ख’मा व्यवस्था गरिएको ‘विवाहको सूचना पति पत्नी दुवैले दिनुपर्ने’ व्यवस्था माथिको छलफलका क्रममा बहुपति र बहुपत्नी विषयले प्रवेश पाएको हो ।