News

तीन वर्षमा त्रिशूलीले लियो १७७ को ज्यान, दूर्घटना कम गर्ने कुनै कार्यक्रम छैन सरकारसँग

०७३ यता २३८ दुर्घटनामा १७७ को मृत्यु

तीन वर्षमा त्रिशूलीले लियो १७७ को ज्यान, दूर्घटना कम गर्ने कुनै कार्यक्रम छैन सरकारसँग

चितवन : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ।

अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा गाडी नदीमा खसेका थिए। तिनमा २२ जनाको मृत्यु भयो।

०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए। साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन्। त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन्। ०७३ असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी घोप्टेभीरबाट दुई सय मिटर त्रिशूलीमा खसेर बेपत्ता भएको थियो। घटनामा चार जनाको मृत्यु भएको थियो। घिमिरेसहित दुई बेपत्ता भए। गोताखोरले पानीको गहिराइमा पुगेर खोज्दा पनि गाडी भेट्न सकेनन्। त्यसको केही दिनअघि मालवाहक ट्रक खसेर नदीमा गायब भएको थियो।

०७३ भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो। ०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको तथ्यांक छ। नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएर त्रिशूलीमा डुबेको प्रहरीको भ्यान बेपत्ता छ। घटनामा प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको थियो।

आव ०७३ देखि अहिलेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा एक सय ४१ सवारी दुर्घटनामा परे। त्यसमा १०३ जनाको मृत्यु भयो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि मौवा खोलासम्म ९७ वटा दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाए। प्रायः मालवाहक ट्रक, ग्यास बुलेट, यात्रुवाहक बस र मोटरसाइकल सडकबाट खसेका छन्।

घुमाउरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। रातको समयमा चलेका साधन बढी दुर्घटनामा परेका छन्। प्रहरी प्रतिवेदनअनुसार अधिकांश घटना चालकको लापरबाहीबाट भएको देखिन्छ। तीव्र गति र चालक निदाउने मुख्य कारण हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

त्रिशूली

विशेष