News

काठमाडौं भ्यु टावरमा हुन्डी रकम, मनोज भेटवालसहित ४ विरुद्ध मुद्दा दायर

काठमाडौं भ्यु टावरमा हुन्डी रकम, मनोज भेटवालसहित ४ विरुद्ध मुद्दा दायर

काठमाडौं : जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले 'काठमाडौं भ्यु टावर' मा गैरकानुनी रूपमा संकलित रकम प्रयोग भएको भेटिएको छ। सिंगापुरमा संकलित रकम हुन्डीबाट नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार बिल्डर्स सञ्चालक मनोज भेटवालसहित चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

गैरकानुनी रूपमा हुन्डी कारोबार गरेकाले विदेशी विनिमय ऐनअनुसार कारबाही हुनुपर्ने भन्दै विभागले उनीहरूसँग ४ करोड ६० लाख रुपैयाँका दरले बिगो अनि त्यसको ३ गुणा सजाय र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ। बरामद भएको ४ करोड ६० लाख जफतसमेत हुनुपर्ने मागदाबी छ।

विभागका अनुसार निशा गुरुङले सिंगापुरमा रहेका आफन्त, साथीहरू र अन्य व्यक्तिसँग काठमाडौं भ्युटावरमा लगानी गर्ने भनी रकम संकलन गरेकी थिइन्। त्यो रकम राष्ट्र बैंकको अनुमतिबिना गैरकानुनी रूपमा हुन्डीबाट नेपाल भित्र्याएको विभागको आरोप छ। त्यसक्रममा राजकुमार विष्ट अन उनका भाइ शिव विष्टको सहयोगमा भेटवालसँग मिलेमतो गरी रकम प्रयोग गरिएको विभागको अनुसन्धानबाट खुलेको छ। 'उक्त रकम विभिन्न व्यक्तिहरूलाई वितरण गरेको कुरा पुष्टि हुन आएको छ' विभागले भन्यो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

विशेष