News

आक्रमण गरी बैंकको पैसा लुटियो

आक्रमण गरी बैंकको पैसा लुटियो

सिन्धुपाल्चोक । निर्धन उत्थान बैंक मुडे शाखामा कार्यरत पाल्पा जिल्ला निवासी ३१ वर्षीय महिमा अर्याल बैंकको समूहबाट काम सकेर कार्यालय फर्कँदै थिए । बिहानको साढे १० बजेतिर ठूलोधादिङका विभिन्न बैंकिङ समूहबाट पैसा बोकेर आएका अर्यालमाथि एक्कासि पछाडिबाट आक्रमण भयो । बा.७७प ८८०८ नम्बरको पल्सर बाइकमा आइरहेका उनलाई आक्रमणकारीले लिसंखुपाखर गाउँपालिका–४ को सिन्दुर्पा जंगलमा ढुंगाले हानेर लडाएका थिए । 

कालो मास्क लगाएका अपरिचित दुई युवाले अर्यालमाथि चक्कु, ढुंगा र लठ्ठीले एकोहोरो हिर्काइरहे । तर, होसमा रहेका अर्याल आक्रमणकारीलाई पछार्दै त्यहाँबाट भाग्न सफल भए । रगताम्मे बनेका अर्याल चार किलोमिटर भागेर मुडेनजिकको गाउँमा पुगेपछि स्थानीयले मुडे प्रहरीमा पुर्याए ।

अर्यालको अवस्था गम्भीर भएकाले खाडीचौर अस्पतालमा सामान्य उपचार गरेपछि काठमाडौं लगिएको छ । आक्रमणकारीले उनको साथमा रहेको एक लाख ८५ हजार र मोबाइल लुटेर लगेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सिन्धुपाल्चोक आक्रमण निर्धन उत्थान बैंक

विशेष