एक्लोपनबाट कसरी मुक्ति पाउने ?
एक्लोपना र निराशाले धेरै मानिसलाई गाल्दै लगेको छ । बाहिर बाहिर मुसुक्क हाँसे पनि भित्रभित्रै पिरोलिनेको जमात उल्लेख्य छ । सामाजिक सञ्जाल, कार्यव्यस्तता र शहरी परिवेशका कारण घरपरिवारका सदस्यबीच न हार्दिकता छ, न एउटाको कुरा अर्कोलाई सुन्ने फुर्सद नै । अझ हजुरबा, बाउ र नातिपुस्ताबीच संवादहीनता बढ्दो छ । यही परिवेशका कारण परिवारका सदस्यमा एकांकीपन बढ्दो छ ।
अझ नयाँपुस्ता सबै विदेशिएपछि घरमा रहेका बृद्ध बुबाआमामा यो समस्या टड्कारो बन्दै गएको छ । जोडी मध्ये एकको निधन भएको अवस्थामा एक्लोपनको निराशाले मानिसलाई जिउँदो लाश बनाएको अवस्था छ । यस्तो अवस्थाबट कसरी मुक्ति पाउने त ? यदि फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अल्मलिएर यो समस्या निदान गर्छु भन्ने सोच्नु भएको छ भने त्यो सरासर गलत हो ।
यसका लागि समयको भरपूर सदुपयोग आवश्यक छ । अकेलापन यस्तो अजीव चीज हो, जसले कति मानिसलाई वर्तमानको भोगाइभन्दा पनि भविष्यको कहालीलाग्दो एक्लोपनले अहिले नै अत्याउन शुरु गर्छ । यदि भविष्यमा आफ्नो घरमा कुनै दुखदायी अवस्था आइलाग्यो भने त्यतिबेला सहयोग गर्ने कोही हुने छैन् । निश्चय नै आपतले मानिसलाई कतिबेला आक्रमण गर्छ, त्यो भन्न सकिन्न । कतिपय परिणाम भने मानिसका गलत र चाहिने बढी आत्मविश्वासका कारण पनि निम्तिने गर्छ । मानिसमा आउने निराशा र एक्लोपनका धेरै कारणमध्ये केहीका विषयमा तल चर्चा गरिन्छ । त्यसैले निरास हुनुअघि यी विषयमा सचेत हुन वाञ्छनीय छ ।
गलत साथी बनाउनु : निराशा र एक्लोपनमा बाँचेका मानिसका लागि मनको बह पोख्ने मानिस जरुरी हुने हँुदा अगाडि जो देखा पर्छ, उसले तिनलाई नै शुभचिन्तकका रुपमा ग्रहण गर्न पुग्छ । हो, यही कारण उसमाथि दुर्भाग्यपूर्ण स्थिति आमन्त्रण हुनसक्छ । यसबाट बच्न विश्वासिलो पुरानो मित्रसंगको संगत फलदायी हुनसक्छ । यदि भेटघाट सम्भव भएन भने फोन, भिडियो कलमै भएपनि कुराकानी गर्न सक्यो भने त्यसले राहत दिन्छ ।
पूर्व प्रेमी पे्रमिकासंग कुराकानी : तपाईं आफूलाई एक्लो र कमजोर भएको अवस्थामा पूर्वप्रेमी प्रेमिकासंगको अन्तरंगमा नभुलिनु उत्तम हुन्छ । यो उत्तम समयको बर्बादी शिवाय केही होइन । यदि यो सम्बन्ध अहिले पनि ठीक अवस्थामा छ भने त्यसलाई रणनीतिक दूरीमा सीमित राख्नु उपयुक्त हुन्छ । यो सम्बन्ध पुनर्ताजगी भएर तपाईंलाई कुनै फाइदा हुँदैन् । बरु खाटा बसेको घाउ उप्किएर पीडा बल्झाउन सक्छ । यस्तो सम्बन्ध बढाउनु भन्दा एक्लो बस्नु कयौं गुना उत्तम हो ।
अत्यधिक खर्च : एक्लो भएपछि धेरै मानिसमा खानपान गरेर धेरै पैसा उडाउने लत लागेको हुन्छ । भोजनालय होस या मदिरालय खुसी किन्न उसले बेहिसाव खर्च गर्ने गर्छ । अझ नेपाली समाजमा मदिरालयमा खुल्ने मानिसका प्रशस्त साथीभाई बन्छन् भन्ने आम सोच रहेको पाइन्छ । तर यो प्रवृत्तिले नजानिदो आवारापनको विकास हुन्छ । यो बाटो हिँड्दा न भरलाग्दा साथीभाई भेटिन्छन, न आफूसंग भएको पैसा नै उपयोग हुन्छ ।
सबैको पहुँचमा रहनु : यदि तपाईंको उपस्थिति चौताराको मादलजस्तो सवैका लागि सहज भइरह्यो भने त्यसले पनि फाइदा दिने छैन् । साथी बनाउँदा विगत, वर्तमान र भविष्य परख गरेर मात्र ठेगान गर्नुपर्छ । यदि तपाईं जुनसुकै समयमा उपलब्ध हुनुभयो भने तपाईंको मूल्य रत्तिभर रहने छैन् । त्यसैले मूल कुरा के भने सर्वप्रथम आफूलाई महत्वपूर्ण काममा व्यवस्थित गरेपछि मात्र सभ्य साथी बनाउने काम गर्नु उचित हुन्छ ।
सामाजिक सञ्जालको उपयोग : कतिपय सामाजिक सञ्जालको लतबाट एक्लोपन हराउने विश्वास गर्छन, यसले त एक्लोपना बेहिसाव ढंगले बढाउँछ । अझ केटीहरुमा यो अन्धविश्वास अधिक रहेको पाइन्छ । सामाजिक सञ्जालको लतले त पहिलाको अवस्थाभन्दा बढी पीडित बनाउँछ ।
कामप्रति कम लगाव : कामप्रति समर्पण कम हुनु एकांकी जीवनको प्रमुख समस्या हो । कामलाई उच्च प्राथमिकता दिनु सट्टा साथीभाइको भूलभुलैयामा लाग्नाले मानिस पछि पर्दै जान्छ । कामप्रतिको दृढ संकल्पबाट भाग्नुको परिणाम मानिस अन्तत निरास र उराठलाग्दो जीवन बाँच्न बाध्य हुन्छ ।
निराशा एक्लोपना