News राजनीति

सांसद्हरुले भने : ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति देऊ

सांसद्हरुले भने : ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति देऊ


काठमाडौँ । सांसद्हरुले बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको शून्य समयमा सांसदहरुले शुक्रबार त्रिशूली नदीमा खस्दा ज्यान गुमाउन पुगेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

सर्लाहीबाट काठमाडौँ आइरहेको यात्रुवाहक बस गत शुक्रबार त्रिशुलीमा खसेको थियो । प्रतिनिधि सभा बैठकमा सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले सडकको सुरक्षा गर्न नसकेकाले सडक दुर्घटना बढ्दै गएको बताए । 


बैठकमा सांसदहरु अमृताकुमारी अग्रहरी, कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी र गौरीशङ्कर चौधरीले असार २६ गते र त्यसपछिको लगातारको वर्षाले बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए । 


सांसद आशाकुमारी विकले ट्याक्सी चालकले लापरवाही ढङ्गले यात्रुसँग भाडा असूल गर्ने गरेको, घनश्याम खतिवडाले बाढीपीडितलाई औषधोचारको व्यवस्था गर्न सरकार चुकेको र खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनपछि तराई तथा पहाडका केही जिल्लामा सिँचाइ सुविधाबाट अवरोध पुग्ने बताउनुभयो ।


सांसद झपटबहादुर रावलले सुदूरपश्चिमाञ्चल क्षेत्रमा औद्योगिक क्षेत्रको पुनःस्थापना गर्न माग गर्नुभयो । 

विशेष