उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीको संख्या घट्यो
काठमाडौं । विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था भए पनि थोरैले मात्र चासो दिने गरेको पाइएको छ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) देखि विश्वविद्यालय तहसम्म नै उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीको संख्या अत्यन्त कम छ । उत्तरपुस्तिका पुनः परीक्षण गरिएका केही विद्यार्थीको अंकसमेत घटेको छ । एसइईमा नियमित तथा आंशिक गरी लाखौँ विद्यार्थीले परीक्षा दिन्छन् । तर, गत वर्ष एसइई दिने तीनजनाले मात्र उत्तरपुस्तिका हेरेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का परीक्षानियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।
कक्षा ११ र १२ मा पनि उत्तरपुस्तिका हेर्न चाहनेको संख्या कम छ । बोर्डका अनुसार अघिल्लो वर्ष कक्षा १२ मा ६ जनाले मात्र उत्तरपुस्तिका हेरेका थिए । अघिल्लो वर्ष कक्षा ११ मा पोखराका विद्यार्थीले नतिजामा असन्तुष्टि जनाएकाले पुनर्योग गर्नेको संख्या बढी थियो । बोर्डले अघिल्लो वर्षदेखि कक्षा ११ मा पुनर्योग मात्र होइन उत्तरपुस्तिकाको पुनःपरीक्षणसमेत गर्न पाउने व्यवस्था गरेकाले संख्या बढेको थियो ।
त्रिभुवन विश्वविद्यालयमा पनि उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था छ । तर, त्यसका लागि कमै विद्यार्थीले मात्र पहल गर्छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सूचना अधिकृत दीपककुमार पाण्डेले आशिष पौडेलले मागेको सूचनाको विवरण दिँदै वार्षिक ५–६ जनाले मात्र उत्तरपुस्तिका हेर्न माग गर्दै आएको जानकारी दिए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
उत्तरपुस्तिका एसइई