News

माओवादी कब्जामै २५०० बिघा जग्गा

माओवादी कब्जामै २५०० बिघा जग्गा

दाङ । तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जा भएको व्यक्तिको जग्गा फुकुवा भए पनि संस्थाका जग्गा अझै कब्जामा छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्व विद्यालयको १३ सय, स्वर्गद्वारी गुठीको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ बिघा कब्जामा रहेको बताए।

उनका अनुसार संस्थागत रूपमा कब्जा भएका जग्गाको आम्दानी सम्बन्धित पक्षले २०५८ सालदेखि नै पाएका छैनन्। द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो। माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गर्‍यो। ‘व्यक्तिको कब्जा जग्गा सहमतिअनुसार उहिलै फिर्ता गरिसका छौं’, तत्कालीन माओवादीका इन्चार्ज निर्मल आचार्यले भने, ‘अहिले त्यस्तो कब्जा जग्गा कहींकतै छैन।’

प्रमुख जिल्ला अधिकारी रिजालले पनि व्यक्तिका जग्गा फिर्ता भइसकेको बताए। उनले भने, ‘कब्जा भएको जग्गा अहिले व्यक्तिसँगको जोडिएको देखिँदैन। संघसंस्थाको भने कब्जा नै छ।’ आचार्यका अनुसार संस्कृत विश्वविद्यालय, स्वर्गद्वारी गुठी तथा विभिन्न संघसंस्थाको जग्गामा किसान, भूमिहीन, सुकुम्बासी बसेका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

जग्गा विद्रोही माओवादी

विशेष