कुमार पौडेललाई गोली हान्ने प्रहरीले दिए यस्तो बयान

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जवानहरूसँग बुधबार बयान सुरु गरेको छ । पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको छ । घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ ।
बयानका क्रममा एक प्रहरी अधिकारी मुठभेड भएको दाबी गर्दै आफूले पौडेलमाथि ६ गोली हानेको स्वीकार गरेका छन् । ‘हानाहान भएको भए तपाईँलाई चाहिँ किन गोली किन लागेन त ?’ आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले ती अधिकारीलाई सोधेका थिए । ‘मैले गोली छलें,’ उनको जवाफ थियो । पौड्यालले ‘गोली हान्दा पौडेल र तपाईंबीचको दूरी कति थियो ?’ भनेर सोध्दा ती अधिकारीले दुई मिटर रहेको बताएका थिए । प्रहरी अधिकारीको जवाफपछि आयोगले दुई मिटरको दूरीमा गोली छल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको निरूपण गर्नुपर्ने भएको छ ।
आयोगको निर्देशनअनुसार बयानमा आएका प्रहरीले गोली लागेपछि ढलेका पौडेलको तस्बिर पनि ल्याएका थिए । त्यसमा पौडेलको जीउ थिलथिलो हुने गरी कुटपिट भएको प्रस्ट देखिने प्रमाण रहेको आयोगले जनाएको छ । ‘पौडेललाई गोली हान्नुअघि समातेर कुट्नुविधि कुटेजस्तो तस्बिरमा देखिन्छ,’ आयोगका एक अधिकारीले भने, ‘पौडेलको मृत्यु भिडन्तमै भएको हो भन्नेमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ छन् ।’ आयोगले पटकपटक ताकेता गर्दा पनि पोस्टमार्टम रिपोर्ट नपठाएका जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डललाई पनि बयानमा बोलाउने सुरसार गरेको छ ।
सर्लाहीको लालबन्दीस्थित जंगलछेउमा गत असार ५ गते प्रहरीको गोली लागी चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए । आयोगको प्रारम्भिक अनुसन्धानमा पौडेललाई गोली हान्न काठमाडौंबाटै ‘सार्प सुटर’ प्रहरी अधिकृत सर्लाही पुगेको देखिएको छ । घटनाका बेला पौडेलको साथमै रहेका तर उम्किन सफल चन्द समूहका कार्यकर्तालाई समेत आयोगले बयान लिइसकेको छ ।
पौडेल भिडन्तका क्रममा मारिएको जिकिर सरकारले गरिरहेको छ । त्यसमाथि सन्देह गर्दै छानबिन हुनुपर्ने मागका साथ प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
घटना भएको चार दिनपछि संसद्मा जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले पौडेलले चन्दा आतंक मच्चाएर जनतालाई दुःख दिइरहेको र प्रहरीसँग जम्काभेट हुँदा गोली चलाएकाले जवाफी कारबाही गर्दा ज्यान गएको दाबी गरेका थिए । कुमार पौडेलको घटना अनुसन्धान गर्ने जिम्मेवारी पाएलगत्तै आयुक्तपौड्यालले आयोगमा एक दसकदेखि ‘पेन्डिङ’ मा रहेका १२ वटा उस्तै प्रकृतिका घटनामा पुनः छानबिन थाल्ने निर्णय गरेका थिए । जसमा दिनेश अधिकार ‘चरी’ देखि कुमार श्रेष्ठ (घैंटे) सम्मलाई गोली हानी मारिएका घटना छन् ।
‘एक दसकयता इन्काउन्टर भनिएका घटनाहरूको ढाँचा हेर्दा अनुसन्धानमा परेको मानिसलाई पक्रिएर मुद्दा चलाउनुभन्दा समातेर गोली हान्नुमा प्रहरीले बढी सजिलो ठान्न थालेको जस्तो आभास भएको छ,’ आयुक्त पौड्यालले भने, ‘यसो हो भने प्रहरीले जसलाई पनि गोली हान्न सक्ने भयो, जुन ज्यादै चिन्ताको विषय हो ।’ उनले विगतमा भएका प्रत्येक घटनाको वस्तुनिष्ट र गम्भीर अनुसन्धान गर्ने निष्कर्षमा आयोग पुगेको बताए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
कुमार पौडेल