साँफे मार्तडीमा पहिरो जाँदा यातायात ठप्प
बाजुरा । साँफे मार्तडी सडक अन्तर्गत बाजुरामा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो। शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै बाजुरावासी प्रभावित भएका छन् । गत वर्ष मात्र कालोपत्रको काम सकिएर सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । सामान्य पहिरो गएको र पन्छाएपछि सुचारु हुने अवस्था नभएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था देखिएको छ ।
सडकखण्ड अन्तर्गत बूढीगङ्गा नगरपालिका– १ अमकोट क्षेत्रमा पहिरोले सडक भत्किएको छ । सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको प्रहरीले जनाएको छ ।