कुलमानको कमाल : विद्युत प्राधिकरण ७ अर्ब २० करोड नाफामा
काठमाडौँ । सरकारी निकायहरू एकपछि अर्को घाटामा जाने, टाट पल्टने प्रवृत्ति बढ्दो छ । तर कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरणले भने गत वर्षको तुलनामा एक सय ४९ प्रतिशत बढी नाफा कमाएको छ । ऊर्जामन्त्री वर्षमान पुनसहित मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्राधिकरणको प्रगतिबारे को प्रगतिबारे जानकारी गराए ।
प्राधिकरणले गत वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा एक सय ४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राधिकरणले २ अर्ब ९० करोड नाफा गरेको थियो । नाफा कमाउन प्राधिकरणले विगतको तुलनामा चुहावट नियन्त्रणको प्रतिशतसमेत बढाएको छ । यो आर्थिक वर्षमा विद्युत् चुहावट अघिल्लो वर्षको तुलनामा ५.३२ प्रतिशतले कमी आएको प्रधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले नेपाली उत्पादन बढी भएको बेला भारतलाई विद्युत् निर्यातसमेत गरेको छ । जसबाट प्राधिकरणले ३२ करोड आर्जन गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभर रहेका पुराना मिटर बाक्सा हटाएर स्मार्ट मिटर बाक्सा राख्ने कामको थालनी भएको जानकारी समेत दिएको छ ।