News

घ्यू दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि

घ्यू दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि

तम्घास । गुल्मीका एक वडा अध्यक्ष घ्यू लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घ्यू लिएर सुत्केरी भेट्न जाने गरेका छन् । 

 

उनले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा भेट्न जाँदा खाली हात नजान र सुत्केरी अवस्थामा घ्यूको आवश्यकता पर्ने भएकाले एक साताभित्रमा जाने गरेको वडाध्यक्ष शाहले बताए । सबैको घरमा पौष्टिक आहारा र आर्थिक अवस्था सुदृढ नहुन सक्ने भएकाले यस्तो कार्यको थालनी गरिएको उनले बताए । यो कुनै प्रचारात्मक कार्य नभई सकारात्मक अभियान भएको वडाध्यक्ष शाहको दाबी छ । 

 

आफूले सुत्केरी भेट्न जाँदा घ्यू लिएर जाने कार्यलाई निरन्तरता दिँदै जाने उनले बताए । वडाध्यक्ष शाहले यो आर्थिक वर्षमा अहिलेसम्म छ जना सुत्केरीको घरमा एक मानाका दरले घ्यू दिएर बधाईसमेत दिएका छन् । महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने गरेको उनले बताए । वडा अध्यक्षद्वारा वडामा राम्रो कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन वडा नं. ७ का युवक अनिश ढकालले आग्रह गरे । गोरखापत्र दैनिकबाट 

गुल्मी घ्यू सुत्केरी जनप्रतिनिधि

विशेष