News

रक्सौल–काठमाडौं रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग, जिरो प्वाइन्ट चोभार

रक्सौल–काठमाडौं रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग, जिरो प्वाइन्ट चोभार

काठमाडौं । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ । रेलमार्ग निर्माणका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल) ले तयार पारेको प्रारम्भिक प्रतिवेदन परराष्ट्र मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ ।

 

सो प्रतिवेदनमा रेल मार्गको कुल लम्बाइ १३५ किलोमिटर रहेको प्रस्ताव गरिएको छ । ‘सो रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ’ रेल विभागका प्रवक्ता अमन चित्रकारले भने । त्यसैगरी ३५ वटा पुल निर्माणको समेत प्रस्ताव गरिएको छ । सो रेलमार्गका लागि नेपाल सरकारको समन्वयमा कोंकण रेलवे कर्पोरेसन लिमिटेडले करिब एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको थियो । 

 

प्रवक्ता चित्रकारका अनुसार वीरगन्जस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौंको चोभारमा प्रस्तावित सुक्खा बन्दरगाहसम्म कुल १३५ किलोमिटर प्रस्ताव गरिएकोे हो । सो अन्तरदेशीय रेलमार्ग ब्रोडगेज ढाँचामा निर्माण गर्ने गरी प्रस्ताव प्रतिवेदनमा गरिएको छ । यसअघि भने भारतले १९० र १३५ किलोमिटर दूरी पर्ने गरी सो रेलमार्ग निर्माणको प्रस्ताव नेपालसामु राखेको थियो । 

 

प्रस्तावित यो रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन गत वर्षको भदौ १५ गते नेपाल र भारतबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी उक्त रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारेमा समेत सहमति भइसकेको छ । 

 

समझदारीपत्रमा हस्ताक्षर हुनुअघि नै भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ जेठ २५ बाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका परामर्शदाता नेपाल आई काम गरेका थिए । प्रतिवेदनअनुसार प्रस्तावित सो रेलमार्ग वीरगन्जको सुक्खा बन्दरगाहबाट बाराको जितपुर–डुमरवाना पुगी त्यहाँबाट प्रस्तावित निजगढ विमानस्थल भएर निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्गको समानान्तर हुँदै काठमाडौँको चोभारसम्म पुग्ने छ । 

 

‘जिरो प्वाइन्ट’ चोभार
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार प्रतिवेदनमा सो रेलमार्गको ‘जिरो प्वान्ट’ काठमाडौँको चोभारलाई तोकिएको छ । यसबीचमा दुई ठाउँमा रेलमार्गले द्रुतमार्गलाई क्रस गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । रक्सौलदेखि चोभारसम्म १२ वटा स्टेसन प्रस्ताव गरिएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

सुरुङमार्ग परराष्ट्र मन्त्रालय रक्सौल–काठमाडौं रेलमार्ग

विशेष