पोर्चुगल पुगेर कांग्रेस प्रवक्ताले भने, ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने?’

पोर्चुगल पुगेर कांग्रेस प्रवक्ताले भने, ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने?’

पोर्चुगल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताए । 

काङ्ग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उनको जोड थियो । ‘सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ’ शर्माले भने । राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताए । 

मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न काङ्ग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गरे । 

देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताए । ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने?’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि काङ्ग्रेसले पहल गर्ने बताए । 

नेपाली नागरिक हुनुमा गौरव मान्नुपर्ने धारणा राख्दै शर्माले भौतिक विकास र निर्माणसँगसँगै नेपाली–नेपालीबीचको भावनात्मक एकतालाई पनि गाँस्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुेन्द्रजङ्ग शाहीले सरकार चौतर्फीरूपमा असफल भएको बताए ।  

विश्वप्रकाश शर्मा नेपाली काँग्रेस पोर्चुगल

संम्बधित खबर

विशेष