News

दर्जनबढी एनसेल र एनटिसीका टावरमा आगजनी र बम विस्फोट

दर्जनबढी एनसेल र एनटिसीका टावरमा आगजनी र बम विस्फोट

काठमाडौं : देशभरका दर्जन बढी सञ्चार टावरहरू आगजनी र बम विस्फोट गरिएको छ। बुधबार साँझदेखि बिहीबार बिहानसम्ममा यी घटनाहरू भएका हुन्।

अज्ञात समूहले सरकारी दूरसञ्चार सेवा प्रदाय कम्पनी नेपाल टेलिकम र निजी दूरसञ्चार सेवा प्रदाय एनसेलका टावरलाई लक्षित गरी आगजनी र बम विस्फोट गराएका हुन्। अज्ञात समूहले ललितपुर, धादिङ, सिन्धुपाल्चोक, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, कैलाली, डडेलधुरा, डोटी, झापा, मोरङलगायतका जिल्लाका सञ्चार टावरहरूमा आगजनी र विस्फोट गराएका छन्।

आगजनी र विस्फोटबाट सञ्चार टावरमा आंशिकदेखि पूर्ण क्षति भएका छन्। यसले गर्दा यस क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ। कसले आगजनी गर्‍यो भन्ने खुल्न नसके पनि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'ले गराएको हुनसक्ने प्रहरीको आशंका छ। यद्यपि अहिलेसम्म कुनै पनि पक्षले आगजनी र बम विष्फोटको जिम्मा लिएको छैन।

अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेका प्रहरीले जनाएको छ। झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

अज्ञात समूहले नै अर्घाखाँचीमा एनटिसीको टावरमा आगजनी गरेको छ। यसअघि निजी सञ्चार सेवा प्रदाय कम्पनी एनसेलमाथि लक्षित गरी आगजनी र बम विष्फोट हुने गरेको भए पनि पछिल्लो दिन सरकारी दूरसञ्चार कम्पनीलाई निशान बनाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

आगजनी

विशेष