७३औं स्वतन्त्रता दिवस मनाउँदै नेपाललाई भारतको सहयोग
भारतले आफनो ७३औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाललाई बिभिन्न सहयोग गरेको छ । नेपालस्थित भारतीय दुतावासले नेपालका बिभिन्न संघसंस्थालाई सहयोग घोषणासहित हस्तान्तरण गरेको हो ।
७३औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा झण्डोत्तलन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुतावासकातर्फबाट ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार प्रदान गर्नुभयो । यस्तै, राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।
यसले भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको राजदूत पुरीले बताउनुभयो ।
राजदूतद्वारा ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागिता थियो । उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरेका थिए ।