News

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

बाँके । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको बताए । 

मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समयमा बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् । इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ । उनले भने, ‘अरू टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाकाटोपी लगाउँछन् । अन्यभन्दा देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ ।’ 

यहाँका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढ्दो छ । अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् । कुनै शुभकार्य वा धार्मिककार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको छ । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर मुस्लिम युवा लतिफ सल्मानीले बताए । 

उनले भने, ‘धर्मगुरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन्’ मैले पनि ‘नेपालीको पहिचान झल्काउन ढाकाटोपी लगाउँदै आएको छु ।’ नेपाली पहिचानसँग जोडेर यहाँका मुस्लिम समुदायले ढाकाटोपी प्रयोग गर्दै आएका छन् । उनका अनुसार ढाकाटोपी नलगाउँदा केही चिज बिर्सेजस्तो लाग्छ । बाल्यकालदेखि नै उनले ढाकाटोपी लगाएकाले नलगाउँदा उनलाई खल्लो महसुस हुन्छ ।

घरबाहिर निस्कँदा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ पनि ढाकाटोपी लगाएर मात्र निस्किन्छन् । त्यसो त चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडवाडमा रमाउने गर्छन् । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँ तिहारमा हिन्दूको हातबाट टीका लगाउँदै आएका छन् । नेपाली भएको चिनाउने एकमात्र माध्यम ढाकाटोपी भएकाले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको उनले बताए । 

‘म हिन्दूका चाडपर्वमा निकै रमाउँछु, जहाँ जाँदा पनि ढाकाटोपी लगाएर जान्छु । मलाई ढाकाटोपी असाध्यै मन पर्छ’ उनले भने, ‘हामीले गर्ने काममा सामाजिक सद्भाव झल्किनुपर्छ । मुस्लिमले ढाकाटोपी लगाउँदा हाम्रा भगवान् दुखी हुनुपर्ने कुनै कारण छैन । हाम्रो राष्ट्रियतासँग जोडिएको पहिचान हो ढाकाटोपी ।’ नेपाली टोपी लगाएर भारतमा जाँदासमेत सम्मान मिलेको अनुभव उनीसँग छ । ‘भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाइन्छ’ उनले भने ।

नेपालगञ्जमा ढाकाटोपीको व्यापार सन्तोषजनक भएको घरबारी टोलस्थित पाल्पाली ढाकाटोपी पसलका सञ्चालक कृष्णप्रसाद कँडेलले बताए । वि.सं २०४२ देखि नेपालगञ्जमा ढाकाटोपीको व्यापार गर्दै आएका उनले ढाकाटोपीको व्यापारमा विस्तारै वृद्धि हुँदै गएको बताए । यसैबाट धेरै राम्रो नभए पनि खानलाउन पुगेको उनको भनाइ छ । पञ्चायतकालको तुलनामा पछिल्लो समय ढाकाटोपीको व्यापार केही खस्किएको बताउँदै उनले पूजाआजा, विवाहमा प्रयोग गर्नका लागि सर्वसाधारणले टोपी किन्ने गरेको बताए । रासस

मुस्लिम समुदाय ढाकाटोपी

विशेष