चट्याङसहित वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले देशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासमा रहनेलाई सचेत रहन आग्रह गरेको हो । सडक यातायातमा पहिरोरभू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार मनसुनको न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीको शिरसम्मलाई जनाउँछ ।
भोलि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।