उपनिर्वाचनको तयारीमा आयोग, बोलायो सर्वदलीय बैठक
काठमाडौं : निर्वाचन आयोगले रिक्त रहेका स्थानमा उपनिर्वचनको तयारी सुरू गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएको हो।
बिहीबार बिहान साढे ११ बजे आयोगको कार्यालयमा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व भएका १८ दललाई बोलाइएको हो। निर्वाचनको प्रकिया र मिति तोक्ने विषयमा दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए। आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्थाअनुसार आयोगले छलफल सुरु गरेको हो।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली रहेका ४७ वटा स्थानका लागि आउँदो मंसिरभित्रै उपचुनाव गर्ने तयारीका लागि छलफल गर्न लागिएको हो। दलका प्रतिनिधिहरूको कुरा सुनेपछि सरकारलाई उपचुनावको मिति प्रस्ताव गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एक र प्रदेश सभाका तीन ठाउँ रिक्त छ। यस्तै स्थानीय तहका चार जना प्रमुख र एक उपप्रमुखका लागि उपचुनाव गर्नुपर्नेछ। अहिले देशभरीका ३८ वटा वडा अध्यक्षविहीन छन्।
निर्वाचन आयोग