रवि लामिछानेलाई सञ्चारमाध्यमबाटै पक्राउ गरिएकोमा महासंघको आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने र युवराज कँडेल उनीहरु कार्यरत न्युज २४ कार्यालय हाताबाट पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै महासंघले सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार लामिछाने र कँडेललाई गरिएको पक्राउको शैलीप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
महासंघले विज्ञप्तीमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले साउन ३० गते बिहीबार आफ्नो सीमा, मर्यादा, मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको उल्लेख गरेको छ । पत्रकार पुडासैनीको आत्महत्याको प्रकरणका सम्बन्धमा कानुनी रुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्न यसअघि नै महासंघले आफ्नो धारणा सार्वजनिक गरिसकेको पनि विज्ञप्तीमा स्मरण गराइएको छ ।
महासंघको विज्ञप्तीमा भनिएको छ ‘ बिना जानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम हो ।प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविरीत भएकोे महासंघ ठान्दछ । महासंघ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । ’ महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।