आइन्दा दक्षिण कोरियासँग वार्ता हुँदैनः उत्तर कोरिया

बीबीसीः उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ । दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ ।
उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ।
सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इन ले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने भनी दिएको भाषणको कटु आलोचना गरिएको छ। शुक्रवार सबेरै उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तट पर्तिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ जुन गत केही सातामा छैटौँ त्यस्तो प्रहार हो।
छ दिनअघि उत्तर कोरियाले दुईवटा छोटो दुरीका बलिस्टिक क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अनबीच जुनमा भएको भेटघाटमा परमाणु निरस्त्रीकरणबारे वार्ता पुनः सुरु गर्ने सहमति भएपश्चात् यी शृङ्खलाबद्ध परीक्षण भएका छन्।
परमाणुअस्त्र विकासको आरोपमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ। जापानी शासनबाट कोरियाले पाएको मुक्तिको वार्षिकीका अवसरमा दक्षिण कोरियाका राष्ट्रपति मुनले कोरियाली प्रायस्द्वीपको सन् २०४५ सम्ममा एकीकरण गरिने बताएका थिए।
दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजन भएका थिए। उत्तर कोरियाको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले ट्रम्प तथा मुन जे-इनसँग उसको सहमति तोडेको उल्लेख छ। दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु भएको थियो। ती अभ्यासहरू मुख्यतस् कम्प्युटर सिम्युलेशनमा आधारित भएको बताइन्छ। तर त्यस्ता अभ्यासलाई उसले युद्धको तयारी भन्ने गरेको छ।
क्षेप्यास्त्र परीक्षण उत्तर कोरिया