नागरिकता लिन गएका युवक वडा अध्यक्षबाट कुटिए

सिरहा । नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडा अध्यक्षबाटै कुटिएका छन्। सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो।
०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए। मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए।
'नागरिकता माग्दा वडा अध्यक्षजीले हरायो भनेपछि विवाद भयो, मनोजले भने। सोहीबीचमा अध्यक्षजीले ममाथि हात छाड्नुभयो भनोजले भने, ‘मैले पनि प्रतिवाद गरे।’ त्यसपछि वडा अध्यक्षजीले मान्छे बोलाएर तारले मेरो हात बाँधेर निर्घात कुट्न लगाउनु भयो,' घाइते मनोजले भने।
कुटपिटबाट आफ्नो शरिरको विभिन्न भागमा गहिँरो चोट रहेको उनले बताए। उपचारपछि औषधी खाएर घरमा आराम गरिरहेको उनको भनाई छ। वडा अध्यक्ष यादवले भने आफूले मनोजलाई नकुटेको जिकिर गरेका छन्। 'मैले कुटेको होइन। जनताले कुटेका हुन, उनले भने 'जब उनले ममाथि हात छोडे त्यसपछि जनताले उनलाई कुटपिट गरे, मैले होइन'
'जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार मनोज रायबाट घटनाको जानकारी आएको छ। आवश्यक अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढ्छ', उनले भने।
यसअघि ०७५ फागुन १६ गत्ते गाउँपालिकामा न्याय माग्न जाँदा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षबाट एकजना सेवाग्राही कुटिएका थिए। लक्ष्मीपुर पतारी गाउँपालिका– २ पर्साका ३४ वर्षीय विष्णुदेव यादव अध्यक्ष रामबल्लव साहबाट कुटिएका थिए। अध्यक्ष रामबल्लभ साहले आफूले कुटपिट नगरेको दावी गर्दै त्योबेला जोगिए। यो खबर आजको नागरिकबाट लिइएको हो।
कुटपिट नागरिकता