News

बगरमै पिर्का राखेर कर्णालीका मुख्यमन्त्रीले लिए सलामी

बगरमै पिर्का राखेर कर्णालीका मुख्यमन्त्रीले लिए सलामी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् । मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् । खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् । 

 

उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो । जनप्रतिनिधिले लिइरहेका सलामीको आलोचना भइरहेका बेला मुख्यमन्त्री शाहीले सलामी लिएको फोटो सामाजिक सञ्जालमा राखेर उनकै पार्टी कार्यकर्ता पनि आलोचना गरिरहेका छन् । 

 

यसैबीच, साताव्यापी गृहजिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई पचालझरनाको फेदीमा स्थानीय बासिन्दाले २० किलोग्रामको स्याउको माला लगाएका छन् । पचाल झरना गाउँपालिकाको पाँचौं विशेष गाउँसभालाई सम्बोधन गर्न गएका मुख्यमन्त्री शाहीलाई स्थानीय बासिन्दाले एक सय ८१ दाना स्याउको माला लगाएका हुन् । 

 

पचाल झरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने एक सय ८१ मिटर उचाइको ओझेलमा परेको पचालझरनाको पर्यटकीय विकासका लागि प्रदेश सरकारको एजेन्डा बनोस् भन्ने उद्देश्यले माला लगाएको बताए । प्रदेश सरकारको ध्यानाकर्षण गराउन माला लगाएको उनको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

महेन्द्रबहादुर शाही सलामी कर्णाली प्रदेश

विशेष