पर्यटनमन्त्री पेरिसडाँडामा
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने भट्टराई पहिलो मन्त्री हुन् ।
नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित विहिवार विहान पेरिस डाँडा पुगेका मन्त्री भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरुको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे।
पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले नेकपालाई अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको ठुलो योगदान रहेको बताए । सोही कारण आफू श्रद्धाञ्जली अर्पण गर्न आइपुगेको उनको भनाइ थियो ।
भट्टराईले आजै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका हुन् ।