मार्क्सवाद र एशियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा
काठमाडौँ । काठमाडौँमा हुन लागेको मार्क्सवाद र एशियाली दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । आयोजक समितिका संयोजक डा. काशीराज न्यौपानेका अनुसार दुई दिने सम्मेलनमा विभिन्न १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् ।
सम्मेलनको आयोजकमा नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुल छन् । सम्मेलन भदौ २ र ३ गते संघीय राजधानी काठमाडौमा आयोजना हुनेछ ।
सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियालगायत देशका प्रतिनिधिको सहभागिता हुने आयोजक समितिका सदस्य डा. प्रेमराज न्यौपानेले जानकारी दिनुभयो ।
सम्मेलनमा पूर्वीय सोच र मार्क्सवाद, कर्मकाण्डमा मार्क्सवाद, वेदान्त र मार्क्सवाद, बौद्ध दर्शन र मार्क्सवादी दर्शन, सङ्ख्य दर्शन र मार्क्सवाद, मार्क्सवाद र एशियाली दर्शनको अध्ययन पद्धति, कला साहित्यलाई हेर्ने मार्क्सवादी दृष्टिकोण, मार्क्सवाद र नेपाली साहित्य, मार्क्सवाद र बुद्ध दर्शनका समदृष्टिकोण, दर्शन विश्वदर्शन, मार्क्सवाद र एशिया अनुभव, वैदिक साहित्यमा मार्क्सवादी धारणालगायत २८ विषयका कार्यपत्र सम्बन्धित क्षेत्रका विज्ञले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । यस विषयमा पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो ।