४३ मिनेटसम्म संसदमा के भने प्रधानमन्त्रीले ? जस्ताको तस्तै

४३ मिनेटसम्म संसदमा के भने प्रधानमन्त्रीले ? जस्ताको तस्तै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा ४३ मिनेट सम्बोधन गरे  । प्रधानमन्त्रीको सम्बोधनको अंश हामीले सम्बोधनबाट जस्ताको तस्तै उतारेका छौँ । 


सम्माननीय सभामुख महोदय, 
आज केही समयपछि मात्रै म यस रोष्ट्रममा उभिएको छु । बीचमा केही हाम्रा अभ्यासहरु केही त्रुटिहरु भए जसले मैले यसअघि बोल्ने कुरामा व्यवधान भएको थियो । म खुशी व्यक्त गर्न चाहन्छु । हामीले लडेर ल्याएको लोकतन्त्र, हामी आफैँले परिमार्जित परिष्कृत ढंगले  दुनियाँका उत्कृष्ट लोकतन्त्र र उत्कृष्ट अभ्यास अगाडि बढाउनुपर्छ । 


हामीले ल्याएको लोकतन्त्र वास्तमवमैँ उत्कृष्ट छ । संविधानको सर्बोच्चता छ । संविधान सभाबाट सुन्दर प्रतिनिधित्व, समावेशी समानुपातिक प्रतिनिधित्व छ । बहुतै महत्वपूर्ण संविधान, उत्कृष्ट लोकतान्त्रिक संविधान हामीले निर्माण गरेका छौँ र त्यस संविधानको उपर्युक्त अभ्यास, उपर्युक्त कार्यान्वयनबाट देश र जनताले अधिकतम लाभ प्राप्त गर्ने स्थिति हामीले निर्माण गर्नुपर्छ, जो सर्बोच्च जनप्रतिनिधिको संस्था हो, आ–आफ्ना भूमिकामा हामी सहकार्यमा छौँ ।

यस प्रणालीको रक्षा, प्रयोग र विकासमा हामी सँगै सँगै छौँ । हामी सबैको साझा दायित्व हो । प्रभावकारी सुन्दर अभ्यासका साथ अघि बढाउने कुरा । आज हामी त्यही अवस्थामा आएका छौँ । संसद् अवरोध रहित ढंगले क्रियाशिल भएको छ । 


सभामुख महोदय,
हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । यो प्रणाली नयाँ प्रणाली हो । यो नयाँ प्रणाली भएका कारण पुराना प्रणालीका पक्षधर पनि यस देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली होइन । पुराना प्रणालीका पक्षधरले खुलेआम गतिविधि गर्न पाउने नै कुरा भयो पाएका छन् ।

यस सुन्दर प्रणालीले आफ्नो अभ्यासलाई प्रारम्भ गर्दा यस अभ्यासलाई परिपक्वता वा पूर्णता राम्ररी प्राप्त गर्न पाउन नपाउँदै कसरी कमजोर गर्न सकिन्छ भन्ने तत्वहरु पनि छन् जसप्रति हामी सजग हुन जरुरी छ । 


सम्माननीय सभामुख महोदय, 
हामीले यस बीचमा संविधान कार्यान्वयन सन्दर्भमा कानूनहरु निर्माण गरेका छौँ । संविधान कार्यान्वनयका सन्दर्भमा यसले पूर्णता पाएको छ । बाँकी कानूनको निर्माण यस संसदले चालु अधिवेशनमैँ गर्नुपर्नेछ । यसै अधिवेशनमा केही कानून निर्माण गर्नुपर्नेछ ।

त्यसकारण कानून निर्माण अल्झिनु हुन्न । कानून निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ, कार्यान्वयनमा बिलम्ब हुँदा प्रतिफल जनताले प्राप्त गर्न समस्या हुन्छ । त्यसकारण हामील्े बाँकी केही जरुरी कानून यसै अधिवेशनबाट टुंगो लगाउनुपर्नेछ ।

 
सम्माननीय सभामुख महोदय,
हामीले संविधान प्राप्त गरेपछि संविधानले भनेका संरचना तय गरेपछि, संविधानले निर्दिष्ट गरेका औँल्याएका र समायोजनका मुख्य माग समाप्त गरेपछि अब हाम्रो ध्यान सुशासन र विकासमा केन्द्रीत छ । वास्तवमा हामी समृद्ध नेपाल र सुखी नेपाली र सुखी नेपाली हुनका लागि भएरहित वातावरण कानूनी राज न्यायको प्रत्याभूति गरिबी अशिक्षा पछौटेपनबाट मुक्ति यी आवश्यक छ ।

जो सुरक्षित स्थिति र सम्मानजनक स्थितिमा र विपन्नतारहित स्थितिमा मात्रै सम्भव छ । त्यसकारण हामीले शान्तिसुरक्षा कायम गर्ने कुरामा, सम्पन्नता हासिल गर्ने कुरामा र नागरिकले जीवनयापन् गर्ने कुरामा ध्यान केन्द्रीत गरेका छौँ । समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा परिपूर्ति गर्ने हो ।

यसकारण उद्योग व्यापार पर्यट शिक्षा स्वास्थ्य, ऊर्जा, सञ्चार वा आर्थिक विकास कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा सञ्चार वा समग्र समाजको आधुनिकीकरणको अभियान होस् वातावरणीय सन्तुलनको पक्ष होस् यी सबै पक्षको ध्यान दिँदै आन्तरिक रुपमा सबै साधनको समूचित प्रयोग गर्दै सिंगो राष्ट्रमा एकता कायम गर्दै एकताबद्ध राष्ट्रको अभियान अघि बढ्नुपर्छ ।


छिमेकीमा भैरहेको विकास प्रतिफल हामीले पनि लिनुपर्छ विकासका अभियानमा हामीले पनि लिनुपर्छ । सम्बन्ध भरपर्दो विश्वासिलो, समानताका आधारमा पारस्पारिक लाभका आधारमा अघि बढाउने । बाह्य अन्य मित्रराष्ट्र छिमेकी सबैसँग कोही पनि शत्रु छैन ।

त्यसरी अगाडि बढ्ने अहिलेको सरकारको नीति हो । कतिले बुझेरै वा नबुझेर हो अहिले हामीले बनाएको संविधानबाट हामीले गराएको चुनावबाट, लोकतान्त्रिक अभ्यासबाट, जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ । यो सरकार अचानक, एउटा ह्विममा जनताको फ्रष्टेशनबाट बनेको होइन ।

एउटा तत्कालीन सेन्टिमेन्ट छोपेर बनेको सरकार होइन । यसको संघर्ष र बलिदानको इतिहास छ । यसले अगाडि सारेका नीति, विगतमा खेलेको भुमिकाका कारण जनताले विश्वास गरेर, अभिमत दिएर लोकतान्त्रिक विधिबाट जनताको अभिमतबाट बलिदानपूर्ण इतिहास र सही नीति हेरेर यो सरकार गठनको जनादेश प्राप्त भएको हो । मैले यो कुनै आवेशमा होइन ।

जनताको फ्रष्टेशनको अभिब्यक्ति होइन भनेर किन भनिरहेको छु भने कहिले कहिले यस सरकारको लोकतन्त्र प्रतिको निष्ठा, सरकारको लोकतन्त्र, अभ्यासप्रतिको निष्ठामा भ्रम फैलाउने काम भैरहेको छ । यो हाम्रा विरोधीले चलाउने हो ।

यो सदनभित्रका शक्ति जो लोकतन्त्रका लागि लडेर आएका छन् तिनीहरुको विरुद्ध जनताको विश्वास भत्काउने, फ्रष्टेशन गराउने त्यो अभ्यास अन्तर्गत लोकतन्त्रका लागि यति बलिदान, देश बनाउन सही नीतिका साथ अघि बढेको सरकार जो लोकतन्त्र ल्याउन लडेकोे छ ।

म भन्न चाहन्छु कोही भन्दा कम त्याग तपस्या बलिदान गरेर यस पार्टीले जनसमर्थन पाएको होइन । यस पार्टीले कुनै नीतिगत वा कुनै त्रुटिबाट, गलत कामबाट जनआलोचना व्यहोर्नुपर्ने अवस्था सिर्जना गरेको छैन । त्यस्तो अवस्थामा अहिलेको सरकारबाट लोकतन्त्र विरुद्ध गयो भन्ने कुरा, अधिनायकवादमा गयो भन्ने कुरा नगर्दा राम्रो हुन्छ । जनताले यसलाई विश्वास गर्नेछैनन् ।

अहिलेको सरकार लोकतन्त्रका लागि लडेको सरकार हो । बलिदान दिएको सरकार हो । यसको उद्देश्य लोकतन्त्रको सुरक्षा,संरक्षण र संवद्र्धन गर्ने हो । अहिलेको सरकारको उदारता, संयमलाई हेरेर केही तत्व बढ्ता हौसिएको देखिन्छ । म भन्न चाहन्छु संविधान सम्मत ढंगले चल्ने कुरामा संवैधानिक दायराभित्र चल्ने कुरामा यस सरकार प्रसन्नता पूर्वक विरोध, आलोचना स्वीकार्छ स्वागत गर्छ र तर सरकारको विरोधका आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्य हुँदैन ।

म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र गणतन्त्र संघीयता जनशासन विरोधी क्रियाकलापहरु सरकारको उदारता र सहिष्णुताबाट त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने गर्ने तत्व नहौसिए हुने हो । 
मैले पद नगएको कोही देखेको छैन । आगामी निर्वाचनपछि मलाई बस्न मन छैन ।

निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्न चाहन्छु । केही प्रतिगामी सडकमा आए भन्दैमा जनताले निर्वाचन गरेर सुम्पेको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ भनेर सरकार लगलग काम्यो भन्ने कुराको दिवास्वप्न नदेखे हुन्छ ।

यो सरकार ठूला ठूला अप्ठ्यारा परिस्थिति सामना गरेर आएको हो । जुन शक्तिका कुरा गर्छन मानिसहरु, ती शक्ति ज्यूँदै हुँदा हामीले ठेगाना लगाएका हौँ । अहिले चिहानमा गएका हड्डी फर्किँदैन । सरकारले उदारता देखाएको नपत्याएर हो म बताईदिन्छु ।

पत्याएका दिन संविधानको व्यवस्थाको प्रणालीको लोकतन्त्रको गणतन्त्रको रक्षाका लागि सरकारले काम गर्छ । 
अहिले सरकारको सम्पूर्ण प्रयास विकास निर्माणमा छ । केही नहुँदा पनि ७ प्रतिशतबढी आर्थिक वृद्धिदर छ । जुन ऐतिहासिक हो । नेपालको इतिहासको रेकर्ड हो ।

केही भएन भन्नुहोस् अर्कोवर्ष ८।५ हुन्छ, फेरि केही भएन भन्नुहोस् अर्कोवर्ष ९.५ पुग्छ केही भएन भन्नुस् ११ हुन्छ । त्यसकारण केही भएन भन्नेले सजग गराएका छन् । धन्यवाद भन्छु । 


१४०० किमी भन्दा बढी बाटो पिच भयो । इतिहासमा धेरै केही भएन भन्नुहोस् । ३०० पुल बनाउदा कम भए ५०० बनाउला । बाटा चौंडा बन्दैछन् । नयाँ बाटा बन्दैछन् । थप जनसंख्यालाई खानेपानी मिलाउँदैछौँ । एउटा मेलम्चीको ठेकेदार भाग्यो ।

सरकार भागेको त होइन नि । ठेकेदार भाग्यो हामी आफैँ गर्दैछौँ । मेलम्चीको पानी ल्याउँछौँ । अलिकति ढिलो भयो । हामी विकास आयोजनाका कार्यान्वयनमा देखिएका समस्या कार्यान्वयनमा हामी कसरी छिटो छरितो गर्न सक्छौँ त्यस बाटोमा गैरहेका छौँ ।

नयाँ तरिका नीति अवलम्बन गरिएको छ । राष्ट्रिय गौरवका आयोजना, आर्थिक वृद्धिलाई सहयोग गर्ने क्षेत्रगत आयोजनाहरु अनुगमनको प्रभावकारी काम गरिएको छ । समस्या आए तत्काल समाधान गर्न आवश्यक उपकरणसहितको व्यवस्था गरिएको छ । यी नयाँ शैली र तरिका अघि बढाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्क्षण आयोजनाको अनुगमन गर्ने संयन्त्र विकास भएको छ । जतिबेला चाहियो त्यतिबेला अनुगमन गर्न सजिलो छ ।


यस सदनबाट पारित भएका बजेट नीति कार्यान्वयनका लागि आवधिक योजना सहितको सिष्टम सुरु गरिएको छ । प्रधानमन्त्री र मन्त्रीबीच, मन्त्री र सचिवबीच यति काम गर्ने सम्झौता भएको छ । जिम्मेवार निकाय र पदाधिकारी कुन कुन आयोजना कति कामका लागि के का लागि तय हुने त्यो गरिएको छ ।

आफ्ना कामका लागि पदाधिकारी जिम्मेवारी हुनुपर्छ । त्यो प्रणाली स्थापना गरिएको छ । गएको आर्थिक वर्ष आधार वर्ष भन्यौ त्यो अनेक हिसाबले आधार वर्ष भन्यौ । आधार वर्ष कानून निर्माणको संरचना टुंग्याएका छौँ । आधार वर्षमा आधार तय गर्ने काम पूरा गरेका छौँ । यी काम गर्दागर्दै ७ प्रतिशतबढी आर्थिक वृद्धिदर हासिल गरेका छौँ । यस बीचमा ऊर्जा, सडक, कृषि लगायतमा काम भएका छन् । 


भर्ना अभियान सञ्चालन गरेको कुरा यहाँमार्फत म सबै माननीय जी हरुलाई भन्न चाहन्छु । अब तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ । हामीले ७ दशमलवमाथिको आर्थिक वृद्धिदर हासिल गरेका छौँ भने यसका निम्ति अब केन्द्रीत हुन्छौँ सुशासन र विकासमा । कानून निर्माणका चपेटाबाट अघि बढेका छौँ ।

सुखी नेपाली ुहनका लागि काम गरिरहेका छौँ । अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चालेको छ । शान्ति सुरक्षामा खलल पुर्याउने, सम्पत्ति शुद्धीकरण, तस्करी, राजश्व चुहावट  जस्तोसुकै अपराधमा संलग्न जो कोहीलाई दण्डित गर्ने छ ।

विकास व्यवस्थापन र सेवा प्रवाह गर्ने निकायको क्षमता विकासमा सरकार प्रतिबद्ध छ । अख्तियारले सक्रियताका साथ भ्रष्टाचार नियन्त्रणका काम भएका छन् । ३९ वर्षको आयोगको इतिहासमा आयोगले यस वर्ष सबैभन्दा बढी मुद्धा दायर गरेको छ ।

भ्रष्टाचार विरुद्धको कारबाहीलाई तीव्रता दिन सरकारले र्यापिड एक्शन टास्कफोर्स गठन गरेको छ । सरकारको स्वामित्वमा फर्काउन दृढतापूर्वक कडा कदम चालिएको छ । सार्वजनिक र गुठी जग्गाको हिनामिनामा संलग्नलाई कारबाही, अतिक्रममितका संरक्षण गर्न जस जसको स्वमित्व हो तीनको स्वमित्वका ल्याउने सरकराको दृढ नीति छ ।

सत्य निरुपण तथा मेलमिलाप बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति निर्माण गरेका छौँ । यसै हप्ताभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन हुनेछन् । सिफारिस आउने बित्तिकै विना विलम्ब गठन गरिनेछ ।

यस विषयको शिघ्रातिशिघ्र निर्माण गरिनेछ । द्धन्दको घाउ बाँकी रहनु तिनलाई सम्झेर घाउ चहर्याउनु राम्रो होइन । सिफारिस भएलगत्तै आयोग गठन हुने र काम प्रारम्भ हुने छ । संघ प्रदेशका आ आफ्ना जिम्मेवारी व्यवस्थापन गर्दै हामीले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेका छौँ । आवश्यकता, औचित्य र विद्यमान अवस्था समेतलाई ध्यानमा राखेर यसको व्यवस्थापन गरिएको छ ।

अन्तर प्रदेश परिषद्को बैठक निकट भविष्यमा हुन्छ । जसले हामीले व्यवस्थित गरेका सदर्भमा अझै परिमार्जित उपर्युक्त ढंगले अगाडि बढ्छ । हाम्रो सार्वजनिक खरिदको क्षेत्रमा रहेका समस्या समाधान गर्ने त्यसका लागि आवश्यक कानून तर्जुमा गरिरहेका छौँ ।

लगानी खरिद प्रक्रिया सहज बनाइ आकर्षित बनाउने विषयमा सरकारको ध्यान गैरहेको छ । यस संसदको ध्यान गएकोका खुशी व्यक्त गर्न चाहन्छु । प्रणाली सुब्यवस्थित र सुदृढ गरेका छौँ । अब बाँकी काम हामीले गर्नुपर्नेछ । यस वर्ष बाढी पहिरो डुबान आदिले देशलाई धेरै नै क्षति पुर्यायो । पहाडमा पहिरो तराईमा बाढी र डुबान । यसले धेरै नै क्षति गर्यो । सरकारको अत्यन्तै तदारुकताका साथ उद्धार राहत पुर्याउने कुरामा ध्यान गएको छ ।

सबै परिचालित भएका छन् म सबैलाई धन्यवाद भन्छु । पुनःस्थापनका काम अघि बढाउने सरकार गम्भीर छ । यथाशक्य छिटो प्रभावकारी बनाउन सरका र प्रतिबद्ध छ । चैत्र १७ गतेको हावाहुरीको क्षति नेपाली सेनाले यसै महिनाको दोस्रो महिनामा सेनाले ८०० घर पीडितलाई बनाइदिनेछ ।

हामीले रोजेर ल्याएको प्रणाली सुदृढ गर्ने कुरामा जनताको ध्यान दिऊँ । बीचमा कुनै कमी कमजोरी देखिए सच्च्याएर अघि बढ्नुपर्छ । त्यस अनुसार अघि बढौँ । एकजुट भएर अघि बढ्न जरुरी छ ।

म आग्रह गर्न चाहन्छु प्रणाली, लोकतन्त्र र देशमा आर्थिक समृद्धिका लागि हामीले एकजुट भएर एक भएर अघि बढ्न हार्दिक आग्रह र अनुरोध गर्दै भनाई टुंग्याउँछु । धन्यवाद । 

संम्बधित खबर

विशेष