News

शाहीकालीन मन्त्रीद्वारा विश्वहिन्दु महासंघ कब्जा !

शाहीकालीन मन्त्रीद्वारा विश्वहिन्दु महासंघ कब्जा !

काठमाडौं । कुनै बेला राजा वीरेन्द्रले स्थापना गरेको काठमाडौंको बाँसबारीमा रहेको विश्व हिन्दु महासंघमा शाहीकालिन मन्त्री तथा पूर्वमहारानी कोमल शाहका भाइपर्ने निक्षे शमशेर राणा समूहले कब्जा गरेको विषय बाहिर आएको छ । 

राजा ज्ञानेन्द्र सत्तामा हुञ्जेल उनकै वरिपरि घुमेर स्वास्थ्य सहायक मन्त्री हुन सफल भएका निक्षे शमशेर गणतन्त्र आएसँग हराएका थिए । पछिल्लो समय राजाको लोकप्रियता बढ्दै जान थालेपछि विश्व हिन्दु महासंघ आफ्नो नियन्त्रणमा लिएर सोही आधारमार्फत पुनरुत्थान हुन उनको गतिविधि क्रियाशील रहेको स्रोतले बताएको छ । 

विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहको गत वर्ष निधन भएको थियो । कार्यावाहक अध्यक्ष प्रमोद चौडरिया पनि बिरामी भएर दिल्लीमा छन् । उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले नेपालका राजाका गुरु हुँ भन्दै भारतमा मानिसहरुको बुद्धि भुटेको भनेर कारबाहीमा परेका थिए । 

महासंघमा अहिले अकूत सम्पत्ति आर्जनका अभियोग खेपिरहेका चक्रबन्धु अर्याल उपाध्यक्ष छन् । भ्रष्टाचारको तरबार टाउको माथि झुण्डिएका कारण उनी कमजोर उपाध्यक्षका रुपमा चिनिन्छिन् । उनी पूर्वसचिवसमेत हुन् । महासचिवमा पत्रकारिता, साहित्य र राजनीतिक पृष्ठभूमिकी  अस्मिता भण्डारी छिन् । भरतकेशर सिंहको निधनपछि कमजोर भएको आंँकलन गरेर निक्षे शमशेर राणा समूहले कब्जा प्रयास गरेको बुझिएको छ । 

यससम्बन्धमा शमशेरसँग कुराकानी गर्न खोज्दा उनको फोन उठेन । महासंघका अर्का उपाध्यक्ष दिनबन्धु अर्यालले महासंघ कब्जा नभएको जानकारी दिए । 
महासंघकी महासचिव अस्मिता भण्डारीले पनि निक्ष शमशेर राणा महासंघको आजीवन सदस्य भएको र उहाँले विभिन्न मुद्धामा छलफल गर्न खोज्नु भएको जानकारी दिइन् । 

महासंघका अन्य बाँकी पदाधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।   
 

विशेष