संसद बैठक सूचना टाँस गरेर स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि डाकिएको बैठक सञ्चालनबारे दलहरुबीच कुरा नमिलेपछि बैठक सूचना टाँस गरी स्थगित भएको हो । संसदको बैठक सोमबार ११ बजे डाकिएको छ ।
बैठक सञ्चालन गर्न सबै दल सहमत भएपनि आ–आफ्ना अडानमा कायम रहेपछि बैठक सञ्चालन हुन सकेन । संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाइएको छ ।
नेत्रविक्रम चन्द विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २५ गते देखि संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
पौडेलले लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको सरकारी दाबी छ । सिंहको भने सर्लाहीमा खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रदर्शनका क्रममा प्रहरीे चलाएको गोली लागि मृत्यु भएको थियो ।
यी घटनामा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने प्रतिपक्षी दलको अडान छ ।