भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउने
काठमाडौँ । भारतीय विदेशमन्त्री सुब्रमण्ड्यम जयशंकर दुई दिने नेपाल भ्रमणका लागि ४ गते नेपाल आउने भएका छन् । ५ औँ नेपाल भारत मन्त्रीस्तरीय संयुक्त बैठकमा भाग लिन जयशंकर आगामी ४ गते नेपाल आउन लागेको सोमबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मन्त्रीस्तरीय संयुक्त बैठकमा नेपालभारत सीमा, व्यापार वाणिज्य, शिक्षा, ऊर्जा, संस्कृति तथा अन्य द्धिपक्षीय हितबारे छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल र भारतबीच द्धिदेशीय मन्त्रीस्तरीय बैठक २०४४ सालदेखि हुँदै आएको छ । अघिल्लो मिटिङ भारतमा भएको थियो ।
नेपालमा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले ४ गते रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।