सचिवालयमा एक्लिए नेपाल
काठमाडौं : सत्तारूढ नेकपाभित्र यसैसाता भएका दुई बैठकका निर्णयले विवाद चुलिएको छ। वरिष्ठ नेता माधव नेपाल आफूलाई 'कर्नर' मा पार्ने अन्य सबै नेताले गठजोड गरेको निष्कर्ष निकाल्दै झनै चिढिएका छन्। एकताको काम सक्दा नसक्दै विषेशगरी पूर्वएमाले समूहमा विवादको खाडल गहिरिएको छ।
गत शुक्रबार र आइतबार बसेका सचिवालय बैठकले नेताहरूको कार्यविभाजन गर्दै केन्द्रीय विभागको टुंगो लगायो। विभाग नेतृत्वको विषयलाई लिएर लामो समयदेखि परेको गाँठो फुके पनि यही क्रममा असन्तुष्टिको नयाँ बीउ रोपियो। शुक्रबारको बैठकले विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गर्दै त्यसमा वामदेव गौतमलाई लैजाने निर्णय गर्यो। आइतबारको बैठकले वरिष्ठ नेताहरूको वरीयता हेरफेर गर्दै नेपाललाई घटुवा र झलनाथ खनाललाई बढुवा गर्यो।
यी दुबै निर्णयबाट नेपाल समूह चिढिएको छ। यसलाई नेता-नेता भिडाउने र अपमान गर्ने कामका रूपमा नेपाल समूहले चित्रण गरेका छन्। 'पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोसिस भएको छ,' उनले सोमबार जनकपुरमा आयोजित कार्यक्रममा भने, - 'पूर्वएमालेको विधानबमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो। दोस्रो चरणमा मलाई अपमानित गर्ने कोसिस भएको छ। राजनीतिमा गल्ती गर्नु हुँदैन।' यो खरब आजको कान्तिपुर दैनिकबाट लिइएको हो।