News

पहुँचवाला नेता/कार्यकर्ताको भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

पहुँचवाला नेता/कार्यकर्ताको भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

लुम्बिनी । बुद्ध जन्मस्थललाई विश्वकै शान्ति केन्द्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । 

कोषमा कर्मचारी छनोटको विकृति डेढ दशकअघि सुरु भएको स्थानीय सरोकारवाला बताउँछन् । उनीहरूका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् । कर्मचारी नियुक्ति गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ ।

यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्ति केन्द्र रिझाउनतिर हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तिको असर कर्मचारी चयनमा पर्ने गरेको हो ।

दरबन्दी सिर्जना नगरी हुने नियुक्तिले सम्बन्धित पदाधिकारीको व्यक्तिगत स्वार्थ मात्र पूरा हुने कोषकै एक पुराना कर्मचारीले बताए । कर्मचारी थुपार्दा कोषको आर्थिक व्ययभार बढेको उनको भनाइ छ । दरबन्दी कोषका अधिकारप्राप्त पदाधिकारीले रिक्त नभएको स्थानमा ज्यालादारी, करार र सेवा करारका नाममा बैठकबाट निर्णय गराएर नियुक्ति गरिरहेका छन् ।

‘कोषमा नियमविपरीत आफूनिकटलाई कर्मचारी नियुक्त गर्ने गरिएको छ,’ लुम्बिनी विश्वविद्यालयका प्राध्यापक गीतु गिरीले भने । लोकसेवा आयोगबाट विज्ञापन प्रकाशित गर्दा आफू निकटका नपर्ने भएकाले बिनासूचना र प्रतिस्पर्धा करार, सेवा करार र ज्यालादारी भन्दै कोषमा नियुक्ति गर्ने गरिएको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
 

लुम्बिनी विकास कोष

विशेष