News

संसद्को गाडी खरिद प्रकरणः समितिले माग्यो सम्पूर्ण कागजात

संसद्को गाडी खरिद प्रकरणः समितिले माग्यो सम्पूर्ण कागजात

काठमाडौं । सङ्घीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात सङ्घीय संसद् सचिवालयसँग माग गरेको हो । 

सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ । नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । 

छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिदसम्बन्धी सबै कागजात माग गरिएको बताए । उनले भने, ‘हामीले खरिद प्रक्रियाका सबै कागजात आजै उपलब्ध गराउन भनेका छौँ । स्पेसिफिकेसनका कागजात पनि माग गरेका छौँ । सचिवालयले दिनुपर्ने कागजात आज नै उललब्ध गराउन भनेका छौँ ।’ 

समितिले प्राविधिक र खरिदका विषयमा छानबिनका लागि प्राविधिक जनशक्तिसमेत दुई निकायबाट माग गरेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एक मेकानिकल इन्जिनियर र सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट एक सहसचिव माग गरेको छ । दुवै निकायलाई दुई दिनभित्र जनशक्ति सिफारिस गर्न समितिले आग्रहसमेत गरेको छ । 

यस्तै समितिले गाडी खरिद गरी दिइएका सङ्घीय संसद्का १० जना सभापतिलाई मङ्गलबार बिहान छलफलका लागिसमेत बोलाउने निर्णय गरेको छ । सभापति कृष्णभक्त पोखरेलले भने उक्त गाडी लिइसकेका थिएनन् । अन्य १० सभापतिलाई गाडी उपलब्ध गराइएको थियो । छानबिन समितिका पाँच सदस्य पनि प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका दुई विषयगत समिति सभापति छन् । समितिमा बिडारीसहित कृष्णभक्त पोखरेल, भरतकुमार शाह, कृष्णप्रसाद दाहाल र तारादेवी भट्ट छन् । 

के हो प्रकरण? 
सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । जसमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

गाडी खरिद प्रकरण सभापति

विशेष