विदेश

कश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

कश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै कुराकानी गरेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।”

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गरेका छन्। कश्मिर मामिलामा परिस्थिति नराम्रो भए पनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई केन्द्र शासित प्रदेश तथा जम्मु काश्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको थियो ।

भारत सरकारको उक्त घोषणापछि भारत र पाकिस्तानकाबीचमा फेरि सम्बन्ध चिसिएको छ भने विश्व समुदायले पनि चासोका साथ हेरेको छ ।

विशेष