मेलम्चीको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

मेलम्चीको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकरी दिए ।

कार्यकारी निर्देशक कँडेलले भने, 'आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइने पक्कापक्की जस्तै भएको छ ।' उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात् ४५ देखि ५० करोड रुपैयाँ कममा सिनो हाइड्रोले बोलपत्र पेस गरेको थियो ।

समितिका अनुसार सुरुङ फिनिसिङका लागि ७५ करोड रुपैयाँ र हेडबक्स निर्माणका लागि ९० करोड रुपैयाँको सम्झौता हुनेछ । सुरुङ सम्पन्न गर्न १२ महिनाको अवधि हुनेछ । हेडबक्स फिनिसिङका लागि १५ महिना तोकिएको छ तर पानी डाइभर्सन गर्ने काम भने १० महिनामा सम्पन्न गर्ने सम्झौता हुनेछ ।

कँडेलले भने, '१० महिनाको पानी डाइभर्सन गर्नुपर्छ, मुख्य सुरुङमा १० महिनामा पानी बग्छ, बाँकी दुई महिनामा अडिट सुरुङहरूको फिनिसिङ हुन्छ, काम सुरु गर्ने अवस्था हेरेर सम्झौताको दिनदेखि नै काम सुरु हुन पनि सक्छ नभएर काम कहिलेदेखि सुरु हुन्छ त्यति बेलैदेखि समय काउन्ट सुरु हुन्छ ।'

समितिले सुरुङ फिनिसिङ र हेडबक्स निर्माणका लागि दुईवटा राष्ट्रिय बोलपत्र गत जेठमा आह्वान गरेको थियो । हेडबक्स र सुरुङ फिनिसिङबाहेकका काम भने पहिला गरिरहेकै कम्पनीबाट गरिएको छ । भेन्टिलेसनको काम पहिलादेखि नै भारतीय कम्पनीले गरिरहेको छ । मन्त्रिपरिषद्ले जेठ ६ गते बाँकी काम टुक्राएर ठेक्का दिने निर्णय गरी मेलम्ची खानोपानी आयोजनालाई निर्देशन दिएपछि काम सुचारु भएको थियो ।

इटालेली निर्माण कम्पनी सीएमसीले गत पुस १ गते काम छाडेपछि मेलम्ची आयोजना रोकिएको थियो । समितिका अनुसार सुरुङको भुइँ ढलान ४१० मिटर र रक सपोर्ट ९५९ मिटर बाँकी छ । चारवटा गेट जडान भइसकेको छ भने थप पाँचवटा जडान बाँकी छ । केही पाइप जडानको काम बाँकी छ ।

सन् २००८ मा ग्लोबल टेन्डर भएपछि २००९ फेब्रुअरी १९ मा चिनियाँ निर्माण कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता भएको थियो । सन् २०१३ सप्टेम्बर २ मा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता थियो तर सीसीआरसीले सेप्टेम्बर २५, २०१२ मा काम छाड्यो । सीसीआरसीसँग सुरुङ र हेडबक्स निर्माणका लागि चार अर्ब २८ करोड रुपियाँको सम्झौता भएको थियो । साढे दुई वर्षमा जम्मा ६.५ किलोमिटर सुरुङ खनेको सीसीआरसीले करिब ७० करोड रुपैयाँ लगेको थियो ।

सन् २०१३ जुलाई १५ मा इटालेली निर्माण कम्पनी सीएमसी डिरभेन्नासँग ठेक्का सम्झौता भयो । सात अर्ब ७२ करोड रुपैयाँमा सम्झौता भई सन् २०१६ मा सम्पन्न गर्ने भनिएको थियो । सीएमसीले २०१४ को जनबरीबाट निर्माण कार्य सुरु गरेको थियो । यो खबर आजको गोरखापत्रबाट लिइएको हो।

मेलम्ची खानपानी

संम्बधित खबर

विशेष